२०८२ आश्विन २० गते, सोमबार १३:४८

हत्यारालाई जन्मकैदको माग गर्दै सत्यम र शिवमका पिता (भिडियो सहित)

वीरगन्ज-
एक साताभित्रै राजन साह कानुका दुई छोराको वीरगन्जमा हत्या भएको छ। बाराको परवानीपुर गाउँपालिका वडा नं. ८ नेवतन बहुवरी घर भई हाल वीरगन्ज–११ रानीघाटमा डेरामा बस्दै आएका राजनका दुवै छोराको एक साताभित्र हत्या भएको हो।

एक साताअघि राजनका जेठा छोरा सत्यमलाई उनकै साथिहरूले वीरगन्जको रानीघाट पुल नजिक दूधमा विष खुवाएर हत्या गरेका थिए भने मंगलबार राति वीरगन्जको गीता मन्दिर नजिक धारिलो हतियार प्रयोग गरी कान्छा छोरा शिवम साह कानुको पनि हत्या गरिएको छ।

वीरगन्जमा टेम्पो चलाएर परिवारको भरणपोषण गर्दै आएका राजनका दुई छोरा र एक छोरी रहेका छन्। गोप्यखबरसँग कुरा गर्दै राजनले भने, “मलाई न्याय चाहियो, मेरा दुई छोरा थिए, दुवैको हत्या भइसक्यो, मलाई न्याय चाहियो।”
जेठो छोरा सत्यमको हत्या वीरगन्ज–२४ रामगढवा निवासी कुन्दन पटेल र गौतम नाम गरेका साथिहरूले दूधमा विष मिसाई खुवाएको कारण भएको जानकारी प्रहरीलाई दिँदा समेत हालसम्म कुनै कारबाही नभएको राजनले बताएका छन्।

ठूला छोराको हत्यारालाई पक्राउ गर्न रानीघाट प्रहरीसमक्ष आग्रह गर्दा प्रहरी चौकीका इन्चार्जले “तेरो छोरा रक्सी लगायतको नसालु पदार्थ सेवन गर्ने भएकाले मृत्यु भएको, कारबाही हुँदैन” भनेको आरोप राजनले लगाएका छन्। तर नारायणी अस्पतालका चिकित्सकले मृत्युको कारण ‘विष सेवन’ भएको बताएको राजनको दाबी छ।

जेठो छोराको हत्यारा पक्राउ गर्न प्रहरीले आनाकानी गरिरहेको र आफुहरू प्रहरी कार्यालय धाउँदा धाउँदै रहेको अवस्थामा कान्छो छोरा शिवमको समेत हत्या भएपछि आफूमाथि दुःखको पहाड टुटेको राजनले बताए।
“जेठो छोराको चिताको आगो सेलाउन नपाउँदै कान्छो छोराको हत्या भयो, म भित्रैदेखि टुटेको छु,” राजनको भनाइ छ।

जेठो छोराका दुई सन्तान छन् भने कान्छो छोराकी श्रीमतीले नौ दिनअघि सन्तान जन्माएकी छिन् भन्ने जानकारी राजनले गराए। “मलाई न्याय चाहियो, हत्यामा संलग्न दोषीलाई पत्ता लगाई सरकारले जन्मकैदको सजाय दिनुपर्छ, यही मेरो माग हो,” राजनले बताए।

यसै विषयमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले राजन साह कानुका दुई छोराको हत्याबारे अनुसन्धान भइरहेको बताए।

राजनका कान्छा छोरा शिवमको हत्यामा संलग्न भएको आशंकामा १० जनालाई नियन्त्रणमा लिइएको छ भने सत्यमको हत्याबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको जानकारी उनले दिए।

शिवम हत्याको विषयमा हत्याराको पहिचान भइसकेको भए पनि मुद्दालाई अहिले ‘क्लोज’ भने नगरिएको डिएसपी बस्नेतले जनाए।

सत्यम र शिवमको हत्या एकअर्कासँग सम्बन्धित छ कि छैन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।

पोडकास्ट सुन्नुहोस