२०८२ आश्विन २५ गते, शनिबार १९:२४

रौतहटमा प्रधानाध्यापक साढे चार लाख घुससहित पक्राउ, वीरगन्जका सहयोगी समेत समातिए

वीरगन्ज-

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंले रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित श्री जयकिसान नमूना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद साहलाई साढे चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

अख्तियारका स्रोतका अनुसार, प्रधानाध्यापक साहका सहयोगी वीरगन्जका अरविन्द प्रकाश साहलाई शुक्रबार राति करीब १० बजे वीरगन्जको राधेमाईस्थित “राधेमाई स्वीट्स एण्ड भोजनालय”बाट पक्राउ गरिएको हो।

स्रोतका अनुसार, विद्यालयमा शनिवार(आज )हुने माध्यमिक तह द्वितीय वर्षको रसायन विज्ञान विषयको परीक्षामा पास गराइदिने बहानामा प्रधानाध्यापक साहले साढे चार लाख रुपैयाँ घुस मागेका थिए। उक्त रकम वीरगन्जका अरविन्द प्रकाश साहमार्फत लिने क्रममा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात समातेको हो।

पक्राउका क्रममा अरविन्द प्रकाशलाई वीरगन्जस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयबाट र प्रधानाध्यापक संजय प्रसाद साहलाई रौतहटबाट नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ।

जानकारी अनुसार, वीरगन्जका एक शिक्षकले विद्यालयको माध्यमिक द्वितीय तहमा विज्ञापन खुलेपछि आवेदन दिएका थिए। त्यही शिक्षकलाई पास गराउने नाममा प्रधानाध्यापक साहले घुस मागेको पाइएको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

हाल अख्तियारले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

पोडकास्ट सुन्नुहोस