२०८२ आश्विन २६ गते, आईतवार १९:०४

पाँच दिन कार्यालय धाए पनि फारम भर्न सकेका छैनौंः सेवाग्रही (भिडियो रिपोट)

वीरगन्ज-
लगातार पाँच दिनसम्म जिल्ला प्रशासन कार्यालय धाउँदा पनि राष्ट्रिय परिचय पत्रको फारम भर्न नसकेको सेवाग्रहीहरूले गुनासो गरेका छन्। नेपाल सरकारले राष्ट्रिय परिचय पत्रलाई अनिवार्य कागजातका रूपमा लागू गरे पनि कार्यालयमा पर्याप्त जनशक्ति नहुँदा सेवाग्रहीहरूलाई समस्या परेको उनीहरूको आरोप छ।

पर्सा बहुदरामाई नगरपालिका–४ डोकैला बहुवारी निवासी लिलावती देवी धानुकले विगत पाँच दिनदेखि जिल्ला प्रशासन कार्यालय पर्सामा राष्ट्रिय परिचय पत्र बनाउन धाउँदै आएको बताइन्। आइतबारसम्म पनि फारम भर्न नसकिएको भन्दै उनले भनिन्, “श्रीमान हरेन्द्र महतो धानुकसँगै वीरगन्जभन्दा २० किलोमिटर टाढाबाट पाँच दिनदेखि आउँछौं, तर काम नभएर फर्किनुपर्छ।”
उनका अनुसार सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरे पनि कार्यालयमा आवश्यक जनशक्ति नहुँदा समय र खर्च दुबै बढेको र “बुढेसकालमा दुःख खेप्नु परेको” छ।

यस विषयमा बुझ्दा पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले कर्मचारी अभावका कारण केही समस्या देखिएको स्वीकार गरे। उनका अनुसार, जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचय पत्र तथा दर्ता शाखामा दैनिक ६ वटा टेबलमार्फत ३५० देखि ४०० जना सेवाग्रहीको फारम एन्ट्री हुँदै आएको छ। तर पछिल्लो समयमा सेवाग्रहीको चाप अत्यधिक बढेकाले समस्या देखिएको हो।

प्रजिअ सुवेदीका अनुसार, फारम एन्ट्री गर्ने कर्मचारीको अभाव भएको जानकारी माथिल्लो निकायमा पठाइएको र छिट्टै ४ जना नयाँ कर्मचारी थपिने आश्वासन पाइएको छ। उनले भने, “हामी बिहान साढे ६ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिइरहेका छौं, तर चाप बढेकाले सबैलाई सेवा दिन गाह्रो भइरहेको छ।”

उनका अनुसार, नेपाल सरकारले सुरुदेखि नै सर्वसाधारणलाई राष्ट्रिय परिचय पत्रको फारम भर्न आग्रह गर्दै आएको भए पनि प्रारम्भिक चरणमा धेरैले बेवास्ता गरेका थिए। अहिले भने सरकारी सेवामा राष्ट्रिय परिचय पत्र अनिवार्य भएपछि एकैपटक भीड अत्यधिक बढेको हो।

पहिले दैनिक ३५० देखि ३७५ जनाको हाराहारीमा सेवा दिइँदै आएकोमा दशैंपछि यो संख्या ६ सयभन्दा बढी पुगेको उनले बताए। माग गरिएको जनशक्ति विभागले पठाएपछि तीन सिफ्टमा फारम भर्ने काम अघि बढाइने र त्यसपछि समस्या समाधान हुने विश्वास प्रजिअ सुवेदीले व्यक्त गरे।

पोडकास्ट सुन्नुहोस