२०८२ आश्विन २६ गते, आईतवार १९:०२

सूचना माग्दा नगर प्रमुख सिंहले तीन घण्टा बन्धक बनाएः पूर्वकर्मचारी ठाकुर

वीरगन्ज-
वीरगन्ज महानगरपालिकासँग सूचना माग्दा महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले आफूलाई तीन घण्टासम्म बन्धक बनाएको आरोप एक जना पूर्व राष्ट्र सेवक कर्मचारीले लगाएका छन्।

स्वामित्व विवाद चलिरहेको वीरगन्ज आदर्शनगरस्थित स्काइलाइन जग्गा प्रकरणसँग सम्बन्धित कागजात महानगरपालिकाबाट माग्दा नगर प्रमुखले आफ्ना सहयोगीमार्फत बन्धक बनाएर धम्क्याएको दाबी सर्लाही बलरा–८ निवासी तथा हाल वीरगन्ज–२ छपकैयामा बसोबास गर्दै आएका पूर्वकर्मचारी संजय ठाकुरले गरेका हुन्।

जग्गाको स्वामित्वका विषयमा भू–सुधार तथा मालपोत कार्यालय, पर्साले गत भदौ ५ गते स्काइलाइन इन्फ्रा प्रा.लि. र भदौ ९ गते वीरगन्ज महानगरपालिकालाई पत्र लेखी विवादित जग्गाको प्रमाणका कागजात मागेको थियो। सोही विषयमा छलफल गर्न भन्दै कार्यालयमा बोलाइएपछि नगर प्रमुखले कार्यकक्षमै आफूलाई तीन घण्टा बन्धक बनाएर अपमानित गरेको ठाकुरको आरोप छ।

उनका अनुसार, कागजात सम्बन्धित कार्यालयमा नपठाएको कारण सोध्दा नगर प्रमुखले मानमर्दन गर्दै दुर्व्यवहार गरेको हो। ठाकुरले आरोप लगाएका छन् कि किर्ते र नक्कली प्रमाण खडा गरी आदर्शनगरको जग्गा अन्य व्यक्तिको नाममा दर्ता गरिएको र त्यस अवैध क्रियाकलाप लुकाउन आफूलाई अपमानित गरिएको हो।

यसै विषयमा बुझ्दा नगर प्रमुख सिंहले कार्यालयका कर्मचारीहरूसँग ठाकुरले अभद्र व्यवहार गरेकाले उनलाई पत्रसहित जिल्ला प्रहरी कार्यालय, पर्साको जिम्मा लगाएको बताए। उनका अनुसार, ठाकुरले “निखत प्रविणको वारिस” भएको कागजात देखाउँदै कर्मचारीहरूलाई अनावश्यक रूपमा दुर्व्यवहार र मानसिक यातना दिएको कारण प्रहरीमा पठाइएको हो।

यस विषयमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप पाठकले पनि पुष्टि गर्दै भने, “महानगरपालिकाले कर्मचारीसँग दुर्व्यवहार गरेको भन्दै पत्रसहित ठाकुरलाई आवश्यक कारबाहीका लागि पठाएको हो।”

नगर प्रहरीले कार्यालयमा जिम्मा लगाएका संजय ठाकुरले भने, माग गरिएको सूचना नदिएकै कारण आफूलाई पक्राउ गरी पठाइएको बताएका छन्।

पछि दुवै पक्षबीच सहमति भएपछि— आगामी दिनमा ठाकुरले महानगरका कर्मचारीसँग भद्र व्यवहार नगर्ने र महानगरपालिकाले पनि भू–सुधार तथा मालपोत कार्यालयले मागेको कागजात शीघ्र पठाउने सहमति बनेको थियो। त्यसपछि ठाकुरलाई घर फर्काइएको एसपी पाठकले जानकारी दिए।

पोडकास्ट सुन्नुहोस