नयाँ दिल्ली, भारत —
सोमबार साँझ दिल्लीको ऐतिहासिक लालकिल्ला नजिक ठूलो विस्फोट भएको छ। उक्त घटनामा हालसम्म पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने २० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्कर का अनुसार, विस्फोट लालकिल्ला मेट्रो स्टेशनको गेट नम्बर–२ नजिक पार्किङ क्षेत्रमा भएको हो। विस्फोटको आवाज चार किलोमिटर टाढासम्म सुनेको स्थानीयले बताएका छन्। विस्फोटपछि आगो तीव्र गतिमा फैलिँदा कम्तीमा छ वटा सवारीसाधन पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने दर्जनौंमा क्षति पुगेको छ।
घटनास्थलमा दिल्ली प्रहरी, दमकल तथा राष्ट्रिय सुरक्षा गार्ड (NSG) का टोली पुगेका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी लोकनायक अस्पतालमा उपचारका लागि पठाइएको छ। अस्पतालका निर्देशक डा. बी.एल. चौधरीका अनुसार केही घाइतेको अवस्था गम्भीर रहेको छ।
विस्फोट साँझ करिब साढे सात बजे भएको बताइएको छ। प्रत्यक्षदर्शी पहाडगञ्जका बलबीर सिंहले आफू वैगनआर कारमा भएको र बालबाल बचेको बताएका छन्। उनका अनुसार विस्फोटको बलले एक कारको भाग नजिकै रहेको लाल मन्दिरमा पुगेको र मन्दिरका साथै मेट्रो स्टेशनका सिसा फुटेका छन्।
विस्फोटपछि आसपासका पसल र सवारीसाधनमा आगलागी भएको र केही समयमा नै अफरातफरी मच्चिएको बताइएको छ। घटनास्थल वरिपरि प्रहरीले घेराबन्दी गर्दै अनुसन्धान सुरू गरेको छ। दिल्ली प्रहरीको स्पेशल सेल, आतंकवाद विरोधी दस्ता र एनएसजीको टोलीले संयुक्त रूपमा घटनाको कारण खोजी गरिरहेको छ।
हालसम्म विस्फोटलाई आतंकवादी आक्रमण मान्ने वा नमान्ने विषयमा दिल्ली प्रहरीले आधिकारिक पुष्टि गरेको छैन। तर प्रारम्भिक अनुमानअनुसार यो कुनै योजनाबद्ध षड्यन्त्र अन्तर्गत भएको हुन सक्ने दैनिक भास्कर ले जनाएको छ।
घटनापछि दिल्लीका लालकिल्ला, चाँदनीचोक र वरपरका क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ र देशभर सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइएको छ।















