काठमाडौँ-
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित मुलुकका रुपमा प्रमाणित भएको बताउनुभएको छ ।
शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले सार्वभौम क्रेडिट रेटिङको नतिजासँगै नेपाल लगानीका लागि सुरक्षित रहेको प्रमाणित हुने जिकिर गर्नुभयो ।
उहाँले क्रेडिट रेटिङको काम सरकारले शुरु गरेको र यो अन्तिम नभइ शुरुवात भएको बताउनु भयो । उहाँले क्रेडिट रेटिङलाई निरन्तरता दिने र आवधिक रुपमा अर्थतन्त्रको स्वास्थ्य स्थितिलाई सार्वजनिक गर्दै जाने बताउनु भयो ।
उहाँले यस पटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वभाविक रुपमा नेपाल लगानीका लागि अनुकुल गन्तव्य भएको सन्देश विश्वव्यापी रुपमा गएको बताउनु भयो । उहाँले नेपालमा लगानी गर्न आह्वान गर्दै नेपालमा लागनी गर्नेहरुले राम्रो प्रतिफल पाउने जिकिर गर्नुभयो ।
नेपालमा लगानी गर्नका निम्ति उत्साहका साथ सहभागी हुन आह्वान गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रलाई अझ सबल, सुदृढ र शक्तिशाली बनाउने र लगानीका निम्ति अझ अनुकुल परिस्थिति निर्माण गर्न सबैले समान भुमिका खेल्नुपर्ने बताउनु भयो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कन्ट्रि रेटिङमा नेपालले डबल बी माइनसको रेटिङ पाएको र यो दक्षिण एशियामा अनुकुल नतिजा रहेको बताउनु भयो ।
उहाँले क्रेडिट रेटिङको नतिजा प्रकाशित गर्ने मात्र नभइ आउने दिनमा प्रत्यक्ष वैदेशिक लगानीका निम्ति अनुकुल हुने परिस्थिति निर्माण गर्न कानूनी र संरचनागत सुधार गर्न तयार रहेको बताउनु भयो ।
आफूहरु बिबि माइनसमा मात्रै चित्त बुझाएर नबस्ने भन्दै क्रमशः आगमी दिनमा सबल र सुदृढ बनाउने बताउनु भयो ।