तस्विर -प्रधान मन्त्रीको समाजिक संजाल एक्स बाट

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी खर्बपति व्यापारी एलन मस्कसँग भर्चुअल वार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीले मस्कमार्फत् नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिँदै मस्कलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।

‘ट्रम्पलाई जिताउन तपाईंको निर्णायक भूमिका रह्यो भन्ने मैले सुनेको छु,’ ओलीले मस्कलाई भनेको उद्धृत गर्दै उनको सचिवालयले भन्यो, ‘म ट्रम्पलाई तपाईंमार्फत् बधाई दिन चाहन्छु । नेपाल अमेरिकाबीचको सम्बन्ध अझै नयाँ उचाइमा पुग्ने मेरो विश्वास छ ।’

मस्कले स्टारलिंकबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्दै उनले नेपालमा यसको प्रयोग भएमा प्राप्त हुन सक्ने सहुलियत र सुविधाबारे पनि जानकारी दिएको उनको सचिवालयले बताएको छ ।

स्पेश एक्स कम्पनीका मालिक समेत रहेका मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाइरहेका छन् । नेपालका विद्यमान नीति नियमअनुसार कम्पनीलाई नेपालमा आउन समस्या पर्नसक्ने भन्दै स्पेश एक्सका प्रतिनिधिले नेपालस्थित अमेरिकी दूतावासमार्फत् सहज रुपमा सेवा दिने वातावरण बनाउन पहल गर्दै आएका छन् ।

प्रधानमन्त्री र मस्कबीच माइक्रोसफ्ट टिम्समार्फत ११ मिनेटजति कुराकानीको अन्त्यमा ओलीले मस्कलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको उनको सचिवालयले जनाएको छ ।

ओलीले सामाजिक सन्जाल एक्समार्फत् मस्कसँग कुरा गरेको र नेपाल भ्रमणमा आउन निम्तो दिएको कुरा सार्वजनिक गरेका छन् ।प्रधानमन्त्रीको निम्तोमा मस्कले के प्रतिक्रिया दिए भन्ने विषय भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया लेख्नुहोस्