काठमाडौ –

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भमणमा ऋणसम्बन्धि कुनैपनि सम्झौता नगर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि हुने चीनको औपचारिक भ्रमणबारे सोमबार सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको सामूहिक छलफलमा सो कुरा स्पष्ट पार्नुभएको हो ।

छलफलमा प्रधानमन्त्री ओलीले चीनसँग कुनैपनि खालको ऋण सम्झौता नगर्ने आशयको अभिव्यक्ति छलफलको क्रममा दिनुभएको काँग्रेस नेता समेत रहनुभएको पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीले चीनसँग सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा आफनो भ्रमण केन्द्रित हुने पनि उल्लेख गर्नुभएको जानकारी दिनुभयो ।

छलफलमा नेपाल र चीनबीच भएका पुराना सम्झौता तथा समझदारीहरुलाई कार्यन्वयन गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनु भयो । विशेष गरेर किमाथान्का प्रोजेक्ट र ट्रान्समिसन लाइन निर्माणको सम्भावनाको बारे प्रधानमन्त्रीले छलफलका क्रममा राख्नुभएको थियो ।

त्यस्तै बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको उद्देश्यबारे प्रष्ट पार्दै घुम्नको लागि नभई काम गर्नको लागि चीन जान लागेको जानकारी गराउनुभएको पूर्वपरराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले बताउनु भयो । उहाँले छलफलको क्रममा विगतमा भएका सम्भौताहरुको कार्यान्वयनको स्थितिबारे छलफल भएको उल्लेख गर्नुभयो।

प्रधानमन्त्रीले भ्रमणको क्रममा चीनको विकासबाट नेपाल कसरि लाभान्वित हुन्छ भन्ने विषयमा समेत छलफल गर्ने जानकारी दिनुभएको उहाँले बताउनु भयो ।  एमाले नेता समेत रहनुभएका पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले विगतमा गरिएका सहमती कार्यान्वयनमा जोड दिने सबै नेताहरुले प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीले राष्ट्रिय हितमा केन्द्रित भएर आफनो चीन भ्रमण हुने धारणा राख्नु भएको पनि बताउनु भयो ।

यता पूर्व परराष्ट्रमन्त्री एवं राप्रपा नेता डां प्रकाशचन्द्र लोहनीले पनि राष्ट्रिय हित र राष्ट्रिय स्वार्थ प्रतिविम्वित हुने गरी चीन भ्रमणमा आफ्नो कुरा राख्न आफूले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले यही मंसिर १७ गते चीनको औपचारिक भमण गर्दै हुनुहुन्छ । सोही सन्दर्भमा उहाँले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गर्नुभएको थियो । छलफलमा प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा, पूर्व परराष्ट्रमन्त्रीहरु नारायणकाजी श्रेष्ठ, नारायणप्रकाश साउद,  डा.विमला राई पौडेल, प्रकाशचन्द्र लोहनीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्