काठमाडौ – 

नेपाली काँग्रेसका सभापति एव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरुका अधुरा सपना पूरा गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनुभएको छ ।

सोमवार जनकपुरमा पार्टीका नेता एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्दै उहाँले सो कुरा बताउनुभएको हो । २०१७ सालमा कू गरी राजा महेन्द्रले विपी कोईराला लगायतका नेता, कार्यकर्तालाई जेलमा कोचेपछि ठाकुरले उनीमाथि बम प्रहार गरेका थिए । सो घटनाको स्मरण गर्दै सभापति देउवाले जनताको अधिकार खोस्ने राजा महेन्द्रविरुद्ध बम हान्ने व्यक्ति ठाकुरले प्रजातन्त्र पुनःप्राप्तीको लडाईका देखाउनुभएको समर्पण सबैका लागि अनुकरणीय रहेको बताउनु भयो ।

उहाँले जेलमा रहँदा आफूले ठाकुरलाई प्रजातन्त्रका लागि लडाई लड्नुपर्छ भन्ने अथक योद्धाको रुपमा भेटेको स्मरण पनि गराउनु भयो । सभापति देउवाले ठाकुरको योगदानको उच्च सम्मान गर्दै पार्टीले उहाँको पत्नी मञ्जु ठाकुरलाई संविधान सभा सदस्य बनाएको र आगामी दिनमा पनि त्यस्तै अवसर दिने आश्वासन समेत दिनुभयो ।

सभापति देउवाले काँग्रेसले आफ्ना शहीदको हितमा सधँै काम गर्दै आएको दाबी समेत गर्नुभयो ।

प्रतिक्रिया लेख्नुहोस्