बारा –
संघ सरकारका उपप्रधान तथा गृहमन्त्री रमेश लेखश मधेस प्रदेश आइपुगेका छन् । गृहमन्त्री रमेश लेखक गढीमाई मन्दिरको दर्शनका लागि बुधबार प्रदेशस्थित बारा जिल्ला आइपुगेका हुन् ।
गृहमन्त्री लेखकले बुधबार बिहान गढीमाई मन्दिरको दर्शन तथा पूजापाठ सँगसँगै मेलाको अवलोकन तथा निरिक्षण समेत गरेका छन् । दर्शनपश्चात उनले मन्दिरका पूजारीबाट टिका र प्रसाद समेत ग्रहण गरे ।

मन्दिर दर्शनपछि सञ्चारकर्मीहरुसँग कुराकनी गर्दै मन्त्री लेखकले विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान दिएको बताए । तसर्थ यसको संरक्षण तथा मेलालाई सभ्य भव्य बनाउन सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।
गढीमाई मेलामा सुरक्षा व्यवस्था चुस्त राख्न तथा मेलालाई व्यवस्थित बनाउनका लागि कुनै कसर बाँकी नराख्न प्रमुख जिल्ला अधिकारी (सिडियो) लाई निर्देशन समेत दिएको उनले सुनाए ।
मेलामा शान्ति, सुरक्षा कायम गर्न बाराका सिडियो बसन्त अधिकारीलाई निर्देशन दिएको गृहमन्त्री लेखकले जानकारी गराए ।
मेलामा दर्शनार्थीहरुको चाँप बढी हुने भएकाले यहाँ सुरक्षा व्यवस्था कडा हुनुपर्ने भन्दै मन्त्री लेखकले आवश्यक परे थप सुरक्षाकर्मी टोली परिचालन गर्ने उनको आश्वासन छ ।
यहि मंसिर १ गतेदेखि सुरु भएको गढीमाई पञ्चवर्षीय मेलामा दर्शनार्थीहरुको चाँप बढ्दो छ । मन्दिरमा २२ गते विशेष पूजा तथा २३ र २४ गते बलि चढाइनेछ ।