काठमाडौं –
नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाटै हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो ।
एमाले नेताहरूका अनुसार पूर्वउपाध्यक्ष रावलले दिएका अभिव्यक्तिका कारण पार्टीलाई कमजोर बनाएकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको हो ।

चितवन महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल त्यसपछि नै एमालेबाट लगभग अलग भएको अवस्था थियोे । तर, पछिल्लोपटक केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने निर्णयप्रति विरोध जनाएपछि गत ४ कात्तिकमा एमालेले रावलसहित स्थायी कमिटी सदस्य डा।बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई स्पष्टीकरण सोधेको थियो ।
पाण्डे र तिमल्सेनाले स्पष्टीकरण बुझाएपनि रावलले कुनै जवाफ दिएका थिएनन् । आजको सचिवालय बैठकले स्पष्टीकरण पत्रको जवाफ दिने पाण्डे र तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गर्दा रावललाई भने पार्टी सदस्यबाटै हटाउने निर्णय गरेको हो ।