वीरगन्ज –
जनता समाजवादी पार्टीको वीरगन्ज नगर कार्य समितिले आफ्ना नेता एवं संघीय मन्त्री प्रदीप यादवलाई बदनाम गर्ने नियतले गरिएको दुष्प्रचारको खेद प्रकट गर्दै आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
नगर अध्यक्ष इश्वरचन्द्र यादव नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई भेटेर ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा नेपाल सरकारका खानेपानी मन्त्री एवं पार्टीका उपमहासचिव प्रदीप यादव र पार्टीका कार्यकर्तालाई बदनाम गर्ने नियतले जसपा नेपालका जिल्ला अध्यक्षले पत्रकार सम्मेलनमार्फत मनगढन्ते आरोप लगाएको भन्दै उनलाई कारबाही गर्न माग गरिएको छ ।

जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवको अभिव्यक्तिले समाजमा भाडभैलो निम्त्याउने र शान्तिसुरक्षामा समेत खलल पुग्ने ज्ञापन पत्रमा उल्लेख छ । त्यसैले यस्ता अनर्गल अभिव्यक्ति दिने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै कारबाही नभए सोही अभिव्यक्तिका कारण निम्तन सक्ने अप्रिय घटनाको जिम्मेवार स्वंय प्रशासन हुने पनि ज्ञापन पत्रमा उल्लेख छ ।
वीरगन्जको वडा नं. २२ जगरनाथपुरमा स्थानीय कृषक हरेन्द्र यादवले लगाएको धानबालीमा भएको आगलागीको घटनामा जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेस यादवले संघीय मन्त्री प्रदीप यादवकै संलग्नता रहेको भन्दै आरोप लगाएका थिए । उक्त आरोपलाई जसपा नगर कार्य समितिले भने तथ्य प्रमाण बिनाको मनगढन्ते र प्रायोजित दुष्प्रचार भनेको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आगलागीको घटनाको स्थानीय प्रशासनले छानविन गरिरहेको भन्दै आरोप प्रत्यारोपमा नउत्रिन सबैलाई आग्रह गरेका छन् ।
उनले तथ्य प्रमाण विना कसैलाई आरोप लगाउन नहुने भन्दै तथ्य र प्रमाण बिना राखिएका अभिव्यक्ति हितकर नहुने प्रतिक्रिया दिए ।
ज्ञापन पत्र बुझाउन जनता समाजवादी पार्टीका नेता तबरेज अहमद, जिल्ला समन्वय समितिका सभापति समेत रहेका पार्टीका नेता अजय सर्राफ, भिमा यादव लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।