वीरगन्ज –
आज प्रधानमन्त्री केपी शर्मा ओली पर्सा आउँदैछन् । एमाले पार्टी कार्यालय पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओली पर्साको सखुवाप्रसौनी गाउँपालिकामा आउन लागेका हुन् । आज आइतबार मध्यान्ह साढे १२ बजे हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली आउन लागेको जनाइएको छ ।
राजधानी काठमाडौंबाट सिधै हेलिकप्टरमार्फत कार्यक्रमस्थलमा आउने उनको कार्यतालिका तय भएको बताइन्छ । सखुवाप्रसौनी गाउँपालिकाको औराहा पचगाँवामा पार्टी प्रवेश तथा जनसभा कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आउन लागेको एमाले पार्टी पर्साले जनाएको छ ।

सखुवा प्रसौनी गाउँपालिकामा प्रधानमन्त्री ओलीको करिब चार घण्टा रहने कार्यक्रम तय छ, जुनक्रममा पाँच हजार स्थानीयलाई एमालेमा प्रवेश गराउने तयारी गरिएको दाबी छ । नेकपा एमाले पर्साका अध्यक्ष विश्म्भर शर्माले पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ५ हजार कार्यकर्ता प्रवेशको कार्यक्रम रहेको बताए ।
यही कार्यक्रममा गाउँपालिकाका पूर्वमेयर प्रदीप जैसवाललाई पार्टी प्रवेश गराउने तयारी रहेको एमाले जिल्ला अध्यक्ष शर्माले बताए । तर एमालेका एक नेताका अनुसार अरुलाई प्रवेश गराउने भनिएपनि मुख्यतः पूर्व गाउँपालिका अध्यक्ष जैसवाललाई प्रवेश गराउन एमाले अध्यक्ष ओली पर्सा आइरहेका छन् ।