२०८२ जेष्ठ ३१ गते, शनिबार २३:४३

वीरगन्ज-

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने एकमात्र पार्टी नेकपा एमाले मात्रै भएको दाबी गरेका छन् ।आइतबार पर्साको सखुवा प्रसौनी गाँउपालिकाको औराहा पचगावामा नेकपा एमाले पर्साले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रम तथा जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष समेत रहेका ओलीले भने,‘देश बनाउने पार्टी एमाले नै हो । त्यसकारण अरु पार्टीमा रहेकाहरुलाई एमालेमा प्रवेश गर्न आह्वान गर्छु ।’

विगतमा एमाले नेतृत्वको सरकारले थालनी गरेर बिचमा पार्टी सरकारमा नहुदाँ अधुरा र अलपत्र परेका विकास निर्माणका योजनाहरु अहिलेको सरकारले सम्पन्न गर्ने उनले बताए । उनले भने,‘विश्वास गर्नुस् मधेस र देशलाई समृद्ध बनाउने काम एमालेले नै गर्छ । एमालेकै नेतृत्वले गर्छ ।अहिलेको एमाले–कांग्रेसको संयुक्त सरकारले नै गर्छ ।मधेस र देशको विकासको गति अब अगाडि बढिसक्यो , कसैले रोक्न सक्दैन।’

देशको अस्थिर र फोहोरी राजनीतिलाई समाप्त पारेर देशको समृद्धिका लागि एमाले र कांग्रेसको संयुक्त सरकार बनेको भन्दै प्रधानमन्त्री ओलीले थपे,‘ मुलुकमा रहेका बेथिती, अस्थिरतालाई हटाउन यो सरकार बनेको हो ।’

एमालेले भन्दै आएको मिसन २०८४ का बारेमा प्रष्ट्याउँदै ओलीले भने‘ हामीले मिसन ८४ भनेका छौं । अब हुने निर्वाचनबाट एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नसके मात्रै एमालेको मिसन ८४ सफल हुन्छ ।एमालेको एकल बहुमतको सरकार बन्यो भनेमात्रै हाम्रो मिसन ८४ सफल हुन्छ ।’

त्यसका लागि देशभरका एमाले नेताकार्यकर्ता अहिलेदेखि नै एकजुट भएर अगाडि बढ्नु पर्ने उनले बताए । मधेसका सामाजिक र आर्थिक समस्या तथा मधेसको सिंगो विकासका सन्दर्भमा एमाले जानकार रहेकोले मधेसको विकास एमालेले नै गर्ने दाबी ओलीले गरे ।

मुलुकमा राजनीतिक क्रान्ति सम्पन्न भइसकेकाले अब आर्थिक उन्नत्ती हुने क्रान्तिका लागि लाग्नु पर्नेमा जोड दिदैं उनले त्यसतर्फ सरकार लागिसकेको बताए ।

मधेसका जनताको जिवनस्तरमा सुधारका लागि हुलाकी राजमार्ग निर्माणको काम एमाले नेतृत्वकै सरकारले सुरु गरेको उनले जिकिर गरे ।यसकासाथैं हुलाकी राजमार्गमै पर्ने क्षेत्रमा १० वटा स्मार्ट सिटी बनाउने योजना एमाले र अहिलेको सरकारको रहेको उनले सुनाए । तराई–मधेसका १ लाख २५ हजार बिघा बढी जग्गामा सिंचाईका लागि सुनकोशी मरिन डाईभर्सन सिंचाइ आयोजना निर्माणको कामपनि एमाले नेतृत्वकै सरकारले अगाडि बढाएको प्रधानमन्त्री ओलीले बताए ।

कृषिलाई आधुनिकिकरण गर्दै किसानको जिवनस्तर उकास्नका लागि ध्यान दिन एमालेका नेताकार्यकर्तालाई उनले आग्रह गरे ।
मधेसका महिलालाई घरभित्रको चुल्हो चौकमामात्रै सिमित नराखी घर बाहिर निस्किएर अगाडि बढ्ने हौंसला दिन र सम्मान गर्न एमाले कार्यकर्तालाई उनले निर्देशन दिए ।युवा–विद्यार्थीलाई कूलत र दुव्र्यसनमा फस्न नदिने दिशामापनि एमाले पार्टी लाग्नु पर्ने उनले बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सखुवा प्रसौनी गाँउपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाल लगायतलाई अबीर टीका लगाएर एमाले पार्टीमा प्रवेश गराए । जयसवालको नेतृत्वमा ५ हजार बढी व्याक्ति एमालेमा प्रवेश गरेको कार्यक्रममा एमाले पर्साका सचिव महेश दासले घोषणा गरे ।

एमाले पर्साका अध्यक्ष डा. विश्वम्बर शर्माको अध्यक्षतामा भएको कार्यक्रमलाई संघीय समामिला तथा स्थानीय प्रशासनमन्त्री राजकुमार गुप्ता,पूर्वमन्त्री ज्वाला साह,पूर्वमन्त्री तथा एमालेका मधेस प्रदेश इन्जर्चा लीलानाथ श्रेष्ठ, एमाले पर्साका ईन्चार्ज तथा प्रतिनिधी सभा सदस्य प्रभु हजरा लगायतका नेतालेपनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस