महोत्तरी –
महोत्तरीको जलेश्वरमा एक स्कुलका प्रधानाध्यापकले आफ्नै विद्यालयका छात्रासंग यौन दुुव्र्यवहार गरेको आरोप लागेको छ ।
जलेश्वरस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापकले आफ्नै छात्रासंग यौन दुुव्र्यवहार गरेको आरोप लागेको छ । स्कुलका विद्यार्थीहरु आन्दोलित भएपछि यसको खुलासा भएको हो ।
विद्यालयका प्रधानाध्यापक सञ्जीव कुमार झाले सोही विद्यालयको कक्षा ७ मा अध्ययनरत एक छात्रामाथि दुव्र्यवहार गरेको विद्यार्थीहरुको आरोप छ ।
सोही आरोपमा विद्यालय, जिल्ला प्रशासन कार्यालय महोत्तरी र जलेश्वर नगरपालिकाको कार्यालय अगाडी विद्यार्थीहरुले प्रधानाध्यापक झालाई कारबाही माग गर्दै प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुको आरोप छ– प्रधानाध्यापक झाले छात्रामाथि पटकपटक यौन दुव्र्यवहार गर्दै आएका छन्, त्यसकारण अनुसन्धान गरेर उनीमाथि कारबाही होस । विद्यार्थीहरु आन्दोलित भएपछि घटनाबारे जानकारी लिन प्रधानाध्यापक झालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको छ ।
उनीमाथि लागेको आरोपबारे सोधपुछका लागि उनलाई प्रहरीमा ल्याइएको प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारले बताए । सोधपुछपछि प्रधानाध्यापक झालाई जिम्मा जमानीमा छोडिएको उनको भनाइ छ । उनी भन्छन्, ‘आरोपबारे बुझ्न तथा सुरक्षाको दृष्टिकोणले प्रधानाध्यापक झालाई प्रहरीमा बोलाइएको हो, बाहिर हल्ला भएको कुरा सत्य हो वा होइन त्यसको अनुसन्धान सुरु भइरहेको छ । त्यसकारण छानबिन भइसकेपछि मात्र केहि बोल्न मिल्छ ।’
‘अहिलेसम्म कसैबाट यौन दुुव्र्यवहार गरेको जाहेरी पनि नआएकोले त्यही हो भनेर हामीले किटानका साथ बोल्न मिल्दैन, त्यसकारण अहिले हामी सबै पाटोबाट अनुसनधान मात्रै गरिरहेका छौंं,’ उनले भने ।
आन्दोलित विद्यार्थीहरुले स्कुलमा तोडफोड गर्नुका साथै जलेश्वर नगरपालिकाको कार्यालयमा पुगेर ढुँगामुढा गरेका थिए ।
विद्यार्थीहरुले नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि नेपाली प्रहरी तथा सशस्त्र प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो ।
विद्यार्थीहरुको प्रदर्शनका कारण अवस्था तनावग्रस्त बनेपछि व्यापक प्रहरी परिचालन गरिएको थियो, यद्यपी अहिले अवस्था सामान्य भइसकेको महोत्तरी प्रहरीले जनाएको छ ।