२०८२ असार ४ गते, बुधबार १०:१४

वीरगन्ज-

अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा मधेसको सांस्कृतिक पहिचान झल्किने परम्परागत पहिरनको संरक्षण र प्रवर्द्धन गर्न धोती दिवस मनाइएको छ ।

जनमत पार्टी पर्साको आयोजनामा वीरगन्जको मुख्य केन्द्र घण्टाघर चोकमा सम्पन्न कार्यक्रममा सहभागीहरूले धोती र कुर्ता पहिरिएर मधेसी समुदायको सांस्कृतिक धरोहरलाई उजागर गरेका थिए ।

जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले धोती दिवसको उद्देश्य नेपालका विविध समुदायका परम्परागत पोसाकलाई सम्मान गर्दै बहु सांस्कृतिक राष्ट्रको पहिचान बलियो बनाउने रहेको बताए ।
“धोती हाम्रो पहिचान मात्र होइन, यो हाम्रो सांस्कृतिक धरोहर हो । यसलाई राष्ट्रिय स्तरमा मान्यता दिलाउन धोती दिवस मनाएका हौँ,” उनले भने ।

कार्यक्रममा सहभागीहरूले धोतीसहित अन्य परम्परागत पहिरनहरूलाई पनि राष्ट्रिय मान्यता दिनुपर्ने माग पनि राखेका थिए ।

उनीहरूका अनुसार नेपाल बहुभाषिक र बहु सांस्कृतिक देश भए पनि एउटा समुदायको मात्र पहिरनलाई राष्ट्रिय पोसाकका रूपमा चित्रण गर्दै आएको परिपाटी तोड्न यस्ता कार्यक्रमहरू आवश्यक छन् ।

जनमत पार्टीले धोती दिवसलाई देशव्यापी रूपमा मनाउने योजना बनाएको छ । धोती दिवसको उद्देश्य बहु सांस्कृतिक र बहुपहिचानयुक्त नेपालमा हरेक समुदायको परम्परागत पहिरनलाई राष्ट्रिय पोसाकका रूपमा स्वीकृति दिलाउनु पनि रहेको पार्टीको धारणा छ ।

नेपालजस्तो सांस्कृतिक विविधता सम्पन्न देशमा सबै समुदायको पहिरनलाई सम्मान गर्नुपर्ने माग राख्दै सहभागीहरूले धोती दिवसले अभियानलाई गति दिने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस