२०८२ असार ९ गते, सोमबार १८:५१

वीरगन्ज-

वीरगन्जस्थित नारायणी अस्पतालमा प्रयोगविहीन स्वास्थ्य उपकरणहरूको पुनः कार्यान्वयनले अस्पतालको सेवा स्तरमा महत्त्वपूर्ण सुधार ल्याएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा अस्पतालमा रहेका ६० भन्दा बढी स्वास्थ्य उपकरणहरूको मर्मत कार्य सम्पन्न भएको छ । मर्मत गरेर अस्पताल प्रशासनले झन्डै डेढ करोड रुपैयाँ बचत गरेको विकास समितिका अध्यक्ष धिरज गुप्ताले दाबीगरेका छन् ।

अस्पतालका विभिन्न विभागहरू—जस्तै, आइसियु, एनआइसियु , रेडियोलोजी, शल्यक्रिया कक्ष, र डायलिसिस—भित्र उपकरणहरूको अवस्था लामो समयदेखि समस्याग्रस्त थियो । उपकरणहरूको बिग्रिएका अवस्था अस्पताल सेवाका लागि ठूलो चुनौती बनेको थियो । सोही विषयलाई मध्यनजर गर्दै अस्पताल विकास समितिका अध्यक्ष गुप्ताको पहलमा अस्पताल प्रशासनले राष्ट्रिय आविष्कार केन्द्रसँग उपकरणहरू मर्मतका लागि सम्झौता गरेको थियो ।

सम्झौता गरिएको केही दिन भित्रै विशेषज्ञहरूले उपकरणहरूलाई पुनः सक्रिय बनाएका छन् । मर्मत गरिएका उपकरणहरूमध्ये धेरै महत्त्वपूर्ण मेसिनहरू छन्, जसले बिरामीहरूको उपचार प्रक्रियालाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन् ।

नारायणी अस्पताल र राष्ट्रिय आविष्कार केन्द्र बिच भएको समझौता पत्र

एनआइसियुमा बेबी वार्मर, फोटो थेरापी मेसिनजस्ता उपकरणहरूको मर्मतपछि नवजात शिशुहरूको हेरचाहमा सुधार आएको छ । आइसियुमा विभिन्न भेन्टिलेटर, पेसियन्ट मनिटर, र सिरिन्ज पम्पहरूको मर्मतले गहन देखभाल सेवा थप प्रभावकारी बनाएको छ भने रेडियोलोजी विभागमा सीआर रिडर मेसिनले पुनः काम गर्न थालेपछि बिरामीहरूको छिटो परीक्षण सम्भव भएको छ । यस्तै, शल्यक्रिया कक्षका विभिन्न उपकरणहरूको मर्मतपछि शल्यक्रियाको प्रभावकारिता बढेको छ ।

डायलिसिस सेवाका उपकरणहरूमध्ये केहीमा जटिल प्राविधिक समस्या रहेको भए पनि त्यसको निराकरणका लागि थप प्रयास भइरहेको अस्पताल गुप्ताले जानकारी दिए । मर्मत कार्य सम्पन्न गर्न उपकरणहरूको परीक्षण, आवश्यक सुधार, र प्राविधिक समाधानका चरणहरू राष्ट्रिय आविष्कार केन्द्रले पूरा गरेको हो ।

उपकरणहरू मार्फत गर्नका निमित्त अस्पताल प्रशासनले राष्ट्रिय आविष्कार केन्द्रसँग पुस ११ गते लिखित सम्झौता गरेको थियो । सम्झौतामा मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दास र केन्द्रका तर्फबाट बायो मेडिकल इन्जिनियर उमेश किराँतले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार, बिग्रेका करिब ४ करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरणहरूलाई सञ्चालनमा ल्याउने जिम्मा केन्द्रले लिएको छ ।

अस्पतालका विकास समितिका अध्यक्ष धिरज गुप्ता का अनुसार सम्झौताले नारायणी अस्पतालको सेवा क्षमतामा मात्र सुधार ल्याएको छैन, उपकरणहरूको दीर्घकालीन उपयोगमा समेत योगदान पुर्‍याएको छ । यसले अस्पतालको आर्थिक व्यय कम गर्दै सेवा प्रवाहलाई समयसापेक्ष बनाएको छ । बिग्रिएका उपकरणहरूको पुनरुत्थानले स्वास्थ्य सेवामा आशातीत सुधार ल्याउनुका साथै बिरामीहरूको विश्वासलाई पुनः स्थापित गरेको छ ।

अध्यक्षको जिम्मेवारी सम्हालेदेखि गुप्ताले अस्पतालका अन्य क्षेत्रमा पनि सुधार देखिन थालेका छन् । अस्पतालमा भएका अक्षम्य समस्याहरूलाई समाधान गर्दै, स्वास्थ्य उपकरणहरूको मर्मतमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाइएको छ । यस पहलले अस्पताललाई आर्थिक रूपमा सुदृढ गर्नुका साथै बिरामीका लागि गुणस्तरीय सेवा दिन प्रेरित गरेको सरोकारवालाहरुको भनाईरहेको छ  ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस