२०८२ असार १७ गते, मंगलवार ०४:३७

वीरगन्ज–

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा वीरगन्जमा आयोजना गरिएको रन फर युनिटी म्याराथन सम्पन्न भएको छ। इम्प्रुभिङ वीरगन्ज क्लबले वीरगन्ज महानगरपालिकाको सहकार्यमा शंकराचार्य गेटबाट सुरु गरिएको म्याराथनमा उत्साहजनक सहभागिता देखिएको थियो।

छात्रातर्फको प्रतिस्पर्धामा वीरगन्ज महानगरपालिका वडा नम्बर २३ की कल्सुन खातुन पहिलो भएकी छन्। उनले कप, मेडल र प्रमाणपत्रसँगै टेक्नो कम्पनीबाट स्मार्टफोन, निखिल ज्वैलर्सबाट पाँच हजार नगद र तीन महिनासम्म वर्ल्डलिंकको निःशुल्क वाईफाई सेवा प्राप्त गरिन्।

दोस्रो स्थानमा रहेका वडा नम्बर १४ की प्रिति पटेलले टेक्नोको फोन, रोट्रयाक्ट क्लब अफ शंकराचार्यबाट नगद दुई हजार, र वर्ल्डलिंकबाट बोट स्पिकर प्राप्त गरिन्। तेस्रो स्थान हासिल गर्ने वडा नम्बर ११ की सरिता भूलले टेक्नोको स्मार्टफोन, नगद एक हजार र वर्ल्डलिंकबाट एअरपड्स पुरस्कार स्वरूप प्राप्त गरिन्।

छात्रतर्फ प्रथम हुने वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का अमरनाथ साहले कप, मेडल र प्रमाणपत्रसँगै स्मार्टफोन, नगद पुरस्कार र वर्ल्डलिंकको निःशुल्क वाईफाई सेवा प्राप्त गरे। बारा कोहल्वीका रुपेश माझी दोस्रो र सोही ठाउँका रोहन माझी तेस्रो स्थानमा रहे। उनीहरूले पनि समान प्रकारका पुरस्कार र एक्सपर्ट एजुकेशनबाट निःशुल्क आईईएलटिएस कक्षा तथा ग्राफिटी डिजिटलबाट ग्राफिक डिजाइनिङको निःशुल्क कक्षा प्राप्त गरे।

कार्यक्रममा विजेतालाई पुरस्कृत गर्दै वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यस्ता स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने कार्यक्रमहरूको महत्व औंल्याए। उनले भने, ूसमाजमा एकता कायम राख्दै खेलकुद गतिविधिहरूको माध्यमबाट स्वस्थ र सक्रिय जीवनशैलीको विकास गर्नु आवश्यक छ। यस्ता कार्यक्रमहरूले स्थानीय युवालाई प्रोत्साहन गर्नुका साथै समुदायमा सकारात्मक सन्देश पुर्याउँछन्। वीरगञ्ज महानगरपालिका यस्ता गतिविधिहरूलाई निरन्तर सहयोग गर्न प्रतिबद्ध छ।

इम्प्रुभिङ वीरगन्जका प्रमुख कार्यकारी अधिकृत सरन गुप्ताले समाजमा एकता र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले म्याराथनको आयोजना गरिएको बताए।

“एकताका लागि दौडौं, समुदायलाई सशक्त बनाऔं” भन्ने नारालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा युवा नेता कन्चन झा, महिला नेतृ डा. सुष्मा तिवारी द्विवेदी, वीरगञ्ज महानगरपालिकाकी कार्यपालिका सदस्य कनिका कौशीकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्विन्दलाल कर्ण, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, भारतीय महावाणिज्य दूतावासका कन्सुल मनिष दास, एनएमसीका निर्देशक आविद अन्सारी, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

शंकराचार्य गेटबाट सुरु भएको म्याराथन रेल्वे रोड हुँदै घण्टघर, माइस्थान, आदर्शनगर र विर्ताबाट पुनः शंकराचार्य गेटमै आएर समाप्त भएको थियो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस