पर्सा-
सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नं. ३९ रिजर्भ गण हेड क्वार्टर महोत्तरीको संयुक्त आयोजनामा २७ औ भूकम्प सुरक्षा दिवस–२०८१ को अवसरमा विपद् व्यवस्थापन सम्बन्धी प्रतिकार्य नमूनाको कृत्रिम सेमुलेशन अभ्यास गरिएको छ ।

मधेश प्रदेशका गृह, संचार तथा कानूनमन्त्री राज कुमार लेखीको प्रमुख आतिथ्यतामा बर्दिवास नगरपालिका–४ कामीडाँडास्थित श्री माध्यमिक विद्यालयमको प्राङ्गणमा अभ्यास सम्पन्न भएको थियो ।
भूकम्प पश्चात तालिमप्राप्त सुरक्षाकर्मीहरूले उपलब्ध स्रोत र साधनबाट कसरी छिटो र छरितो रूपमा उद्धार कार्य सम्पन्न गर्दछन् भने बारेमा नमूना अभ्यास गरिएको थियो । कार्यक्रमा मधेस प्रदेश सरकारका माननीय गृह, संचार तथा कानूनमन्त्री राज कुमार लेखीले विपद् व्यवस्थापन सम्बन्धी सशस्त्र प्रहरी बलद्वारा गरिएको नमूना अभ्यास एकदमै महत्वपुर्ण रहेको बताउनुभयो ।
उनले यस्ता कार्यक्रमले विपद् पूर्व तयारीको लागि महŒवपूर्ण योगदान दिने बताउदै सशस्त्र प्रहरी बल, नेपालले बिपद् उद्धार कार्यमा लिएको योगदानको प्रशंसा समेत गर्नु भयो । महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले प्रत्येक प्रदेशमा विपद् व्यवस्थापन गर्नका लागि प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति मार्फत सुरक्षा निकायलाई अझ सवल र सक्षम बनाउन विपद् उद्धार सामाग्रीहरू प्रदान गर्ने बताउनुभयो । उहाँले विद्यालय स्तरमै गरिने विपद् उद्धारका पूर्वतयारी अभ्यासहरू बढीभन्दा बढि आयोजना गरी समुदायलाई नै बलियो बनाई क्षती न्यूनिकरण गर्न सकिने बिचार व्यक्त गर्नु भयो । उहाँले प्रदेश तथा जिल्ला तह सम्मका विपद् व्यवस्थापनका सरोकारवाला निकायका पदाधिकारीहरू समेतलाई समेटी भुकम्प प्रतिकार्यका नमूना अभ्यास संचालन गरेकोमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय तथा नं. ३९ रिजर्भ गण हेड क्वार्टरलाई धन्यावाद प्रदान गर्नु भयो ।
कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले नेपाल विपद्को दृष्टिकोणबाट जोखिम रहेको, जलवायु परिवर्तन, भूकम्पिय जोखिम तथा जलउत्पन्न प्रकोप, आगलागी एवं भौगोलिक बनावटको कारण समेत जोखिमपूर्ण भई वर्षेनि ठूलो धनजनको क्षती व्यहोर्नु परेको बताउनुभयो । उहाँले विपद् तथा प्रकोपहरूका क्षती न्यूनिकरणलाई महतवपूर्ण बिषयवस्तु बनाई व्यापक पूर्व तयारी गरी क्षती न्यूनिकरण गर्न सकिने बताउनु भयो । भुकम्प लगायत बिभिन्न प्रकृति एवं गैर प्रकृतिक विपदबाट सुरक्षित रहन पूर्व तयारीको समय, विपद्को समय, विपद् पश्चातको राहत पुनस्थापन तथा पुननिर्माण सबै तहमा समुदाय स्तरमा समेत व्यापक जनचेतना शिक्षण प्रशिक्षणको जरूरी रहेको बताउनुभयो ।
वाहिनीपति धौवजीले सशस्त्र प्रहरी बल, नेपालले केही वर्षयता देखि निरन्तर रूपमा बिभिन्न समुदाय तथा स्कुल, कलेज जस्ता शौक्षिक संस्था समेत लक्षित गरी नमूनाको रूपमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी तथा नं. ३९ रिजर्भ गणको सहकार्यमा कार्यक्रम संचालन गरिएको बताउनु भयो । उहाँले देशै भरी रहेका हरेक विद्यालयमा यस्ता प्रकृतिका कार्यक्रमहरू संचालन गर्न सकिएको अवस्थामा पक्कैपनि बिपद् व्यवस्थापनमा मुलुकमा प्रभावकारी असर पार्न सकिन्छ भनि महसुस भएको समेत बताउनु भयो । सेमुलेशन कार्यक्रमसँगै छिन्नमस्ता बाहिनी मुख्यालयले फरक फरक प्रकृतिका विपद् व्यवस्थापनमा प्रयोग हुने उपकरण तथा औजारहरू समेतको प्रदर्शनीसँगै जानकारी मुलक प्रस्तुतिकरण समेत गरेको थियो ।
कार्यक्रममा मध्यपूर्वी पृतना हेड क्वार्टर मुख्यालय बर्दिवास महोत्तरीका सहायक रथी भुवन खत्री, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश कार्यालयका प्रमुख अनुसन्धान निर्देशक, महोत्तरी जिल्लाका सुरक्षा समितिका पदाधिकारी, माध्यामिक विद्यालय कामिडाँडाका प्रधानाध्यापक, न्याथम कलेजका प्रधानाध्यापक, भूकम्प प्रविधि राष्ट्रिय समाज (नेपाल) का प्रतिनिधि, रेडक्रश सोसाइटी बर्दिवासका प्रतिनिधिलगायत विद्यालय तथा कलेजका शिक्षक, बिद्यार्थी एवं स्थानीय वासीको सहभागिता थियो ।