वीरगन्ज –
वीरगन्ज भन्सार कार्यालय आईसीपीले गत श्रावणदेखि पुसको महिनासम्म वार्षिक लक्ष्यको जम्मा ३६।५६ प्रतिशत राजस्व संकलन गरेको छ । यो अवधिका लागि १ खर्ब ४ अर्ब १८ करोड २९ लाख राजस्व संकलनको लक्ष्य राखेको भए पनि ८० अर्ब ५ करोड ५१ लाख मात्र संकलन हुन सकेको छ ।
मुलुकको प्रमुख आर्थिक द्वारको रूपमा परिचय स्थापित गरेको वीरगन्ज भन्सार कार्यालयमा आउने हाकिमहरु प्रायस् शक्तिकेन्द्रको आशीर्वाद प्राप्त गरेर आउने भएकोले उनीहरुले सरकारी राजस्व भन्दा व्यक्तिगत असुलीमा बढी ध्यान दिने गरेकोले विगत केही वर्ष देखि वीरगन्ज भन्सारले लक्ष्य भेटाउन सकेको छैन ।
यो दुर्दशा हुनुको पछाडि मुलुकको अस्थिर राजनीति पनि एउटा कारण भएको र कुन बेला सरकार परिवर्तन भएर लखेटिनु भन्दा अगाडि आफ्नो दुनो सोझ्याउने प्रवृत्ति बढेको छ ।

सधै शक्तिकेन्द्रको वरिपरि रहेर कहिले मेची भन्सार त कहिले रसुवा भन्सारमा बसेर रजगज गर्दै आएका वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक आएदेखि कार्यालयको माहौल बिग्रिएको दाबी गरिएको छ ।
गत कार्तिक महिनामा रामप्रसाद पाठकको संलग्नतामा अन्नपूर्ण ट्रेड लिंकले पैठारी गरेको १२ हजार १ सय किलो पोलार कपडालाई मलमलको बनाई न्युन राजस्व लिएर छोडिएको तीन वटा ट्रक राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिए पनि अनुसन्धानको नाममा हालसम्म झारा टार्ने काम भएको छ । यो प्रकरणमा नासु गोविन्द अधिकारीलाई भन्सार विभागले वीरगञ्ज भन्सारबाट विभागमा झिकाएर पाठकलगायत जाँचपासमा संलग्न अन्य सबैलाई चोख्याइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नजिक भएको झ्याली पिट्दै पाठकले मन पर्ने व्यापारीको एच.एस कोड परिवर्तन गरी छुट दिने र मन नपरेको व्यापारीलाई दुःख दिने नयाँ रणनीति अख्तियार गरेको व्यापारीहरुको आरोप छ ।
जङ्गलको राजा बाँदरलाई बनाएर हुँदैन म जस्तो सिंह हुनुपर्छ भन्दै आफ्ना सहकर्मी कर्मचारीहरुको खिल्ली उडाउने गरेका पाठक बेला बखत काम धन्दा छोडेर टिकटक बनाएर रमिता गर्ने गरेका छन् ।
पाठकको टोलीमा रहेका अधिकृतहरु दिब्यरञ्जन दाहाल, माधव भण्डारी, प्रकाश निरौला र दीपेन्द्र चौरसिया, नासु हरिबोल काफ्ले, सुवर्ण पौडेल र भोजराज रेग्मीलाई व्यापारीहरुले राम्रो नजरले चिन्दैनन् ।
दामोदर राठी,राजकुमार मोदी,कमल टिब्रेवाल,प्रमोद जैन, राजभक्त श्रेष्ठ र नन्द किशोर मल्ल लगायतका भन्सार एजेण्टहरु वीरगञ्ज भन्सार कार्यालयका धमिराको रूपमा चिनिन्छन् । राज्यले यिनीहरुमाथि निगरानी बढाउनुको साथै छोटो अवधिमा अकुत सम्पति आर्जनको श्रोत खोज्नु पर्ने पीडित भन्सारका कर्मचारीहरुको भनाइ रहेको छ ।
वीरगन्ज भन्सार कार्यालयका भ्रष्ट हाकिमहरुको पैसा भन्सार एजेण्ट प्रमोद जैन र राजभक्त श्रेष्ठले व्यवस्थापन गर्ने गरेको बुझिएको छ । जैनको कारोबार दुबईमा रहेकाले अधिकांश रकमको व्यवस्थापन उनले आफ्नो छोरा मोहित मार्फत गर्ने गरेका छन् । साभार- हाम्रा कुरा डट.कम