काठमाडौं –
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टमा ५० देखि ७५ प्रतिशतसम्म मूल्य नभएको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले चार सयको सिमेन्ट आठ सय रुपैयाँ भन्ने विषयमा सत्यता नभएको दाबी गर्नुभयो । उहाँले पछिल्लो समय उद्योगको मूल्य लागतअनुसार फरकफरक रहेको बताउनु भयो । उहाँले ओपीसीको ६५० र पीपीसी ७५० रुपैयाँसम्म मूल्य रहेको बताउनु भयो । उहाँले बाहिर भनिए जस्तो सिमेन्टमा ५०–७५ प्रतिशत मूल्य वृद्धि नभएको बताउनु भयो ।

उहाँले सिमेन्टको मूल्य वृद्धिको विषयमा सरोकारवालाहरुसँग ४– ५ पटक छलफल भएको र अन्तिम पटक माघ ६ गते सहमति भएको बताउनु भयो । उहाँले ढुवानीमा पनि मूल्य नबढेको तर लोडसेडिङले उत्पादनमा कमी भएको बताउनु भयो । उहाँले निर्माण व्यवसायी र उद्योगी दुवैलाई सँगै राखेर र छुट्टाछुट्टै पनि बसेर छलफल गरेको जानकारी दिनुभयो । उहाँले उत्पादनमा अभाव र बजारमा अभावको विषयमा उद्योगी र निर्माण व्यवसायीसँगै राखेर टुंग्याउने प्रतिवद्धता जनाउनु भयो । उहाँले सरकारी हेटौँडा र उदयपुर सिमेन्ट उद्योग घाटा खाएर विक्री भइरहेको समेत बताउनु भयो ।
मन्त्री भण्डारीले संसदीय समितिको निर्देशनका आधारमा चाँडै सिमेन्ट मूल्य वृद्धिका विषयमा टुङ्गो लगाउने उल्लेख गर्नुभयो ।