काठमाडौं-
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको बैठक काठमाडौंमा शुरु भएको छ ।
शुक्रवारदेखि काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा बैठक शुरु भएको हो । बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थितिको समीक्षा,ओली सरकारको ६ महिनाको समिक्षा,पार्टीको भावी कार्यदिशा, संगठन सुदृढीकरण, पार्टीको स्थानीय तहको अधिवेशन र पार्टी जीवनका विविध पक्षमा छलफल गर्ने तयारीको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो । अध्यक्ष लिङदेनले बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकमा नेकपा एमाले र नेपाली काँग्रेस दुई ठूला पार्टी मिलेर बनेको सरकारको पछिल्ला गतिविधिको बारेमा समिक्षा गर्ने तयारी रहेको बताउनु भयो । उहाँले सरकारले संसदलाई छलेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप लगाउनु भयो ।

उहाँले नियमित संसद बोलाउन पनि प्रतिपक्षहरूले दबाब दिनुपर्ने स्थिति बनेको बताउनु भयो । उहाँले वर्तमान सरकार सञ्चाल भएदेखि अहिलेसम्मको बीचमा जनतामा आशा जागृत हुनुपर्नेमा जनतामा थप निराशा पैदा भएको बताउनु भयो । अर्थतन्त्र शिथिल र कमजोर भएको भएको सरकारले महँगी नियन्त्रण गर्न नसकेको दाबी गर्नु भयो । उहाँले सिमेन्ट लगायत निर्माण सामाग्रीमा चरम मूल्यवृद्धि हुँदा पनि सरकार अन्देखा भएर बसेको आरोप लगाउनु भयो । उहाँले कमजोर वैदेशिक सम्बन्ध र असन्तुलित प्रराष्ट्रनीति कारण मुलुक भूराजनीतिक चक्रव्युहमा फस्ने खतरा बढेर गएको उल्लेख गर्नुभयो । उहाँले सरकारले प्रजातन्त्रलाई समेत कमजोर बनाउने उदेश्यले संसदलाई छलेर अध्यादेशबाट मुलुकलाई सञ्चालन गरेको बताउनु भयो ।
उहाँले बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल गरी व्यवस्था बदल्ने आगामी रणनीति बनाउने पनि बताउनु भयो । पार्टीले वैशाख मसान्तसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्नेगरी काम गरिरहेकाले त्यसको समीक्षा हुने उहाँको भनाई छ । देश र जनताको अवस्था परिवर्तन व्यवस्था नै परिवर्तन गराउने आन्दोलनको विषयमा पनि छलफल हुने भन्दै संसदमा पार्टीको भुमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने बताउनु भयो ।