
काठमाडौं-
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पाथीभरा मन्दिरमा कुनै एक व्यवसायीको लाभको लागि केबलकार बनाउन दिन नहुने बताउनुभएको छ ।
आईतवार काठमाडौंमा पाथिभरा केबुलकारको विषयमा धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो । उहाँले जनता माथि गोली चलाएर दमन गरी पाथीभरा मन्दिरमा केबलकार बनाउन जरुरी नभएको बताउनु भयो । उहाँले सरकारले एक जना व्यापारीको फाइदा,केही राजनीतिक नेताहरुको कमिसन र शेयर सुरक्षाको लागि जनता माथि गोली चलाएर केबलकार बनाउन दिन खाजेको आरोप लगाउनु भयो । उहाँले पाथीभरा मन्दिरमा केबलकारको आवश्यकता, स्थानीय जनताको फाइदा,मन्दिरको मौलिकताको सुरक्षा,सनातन परम्परामाथि आक्रमण र सुरक्षाका विषयमा विश्लेषण गरेर मात्रै केवलकार निर्माण कार्यअघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सरकारले केबलकार निर्माण कार्य तत्काल रोक्नुपर्ने बताउनु भयो । उहाँले केबलकार निर्माण कार्य रोक्दै सरकारले जनतामाथि गरिएको प्रहरी दमन रोकी सहज वातावरण र जनजीवनलाई सहज बनाउँदै आतंकको अन्त्य गर्न ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकार व्यवसायीको व्यक्तिगत लाभसँग सम्बन्धि विषयहरुमा मात्रै केन्द्रित हुँदै जाने र जनतालाई दमन गर्दै जाने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।
उहाँले सरकारले दमन र निर्माण कार्य स्थगित गरेर वार्ता र संवादको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारसँग थुनामा रहेका मानिसहरुलाई छोड्न र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न पनि माग गर्नुभयो ।
