काठमाडौं-
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाउनुभएको छ ।
शनिवार पार्टीको काठमाडौंमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै त्यसको बिरोध पनि गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पद चाहिएकाले दुई कम्युनिष्ट पार्टीहरु मिलेर बनएको सरकार ढालेर काँग्रेससँग मिलेर सरकार बनाएको बताउनु भयो । उहाँले प्रधानमन्त्री पद चाहिएको भए आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्षसँग बार्गेनिङ गरेको अवस्थामा पाउने स्थिति रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीलाई दुनियाँ ठग्नको लागि प्रधानमन्त्री बनेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओली देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नेकुरामा केन्द्रित भएको आरोप लगाउनु भयो ।

उहाँले नेपालमा दुई वटा ठूला पार्टीको मात्रै उपस्थिति हुनुपर्ने कुरामा सरकार केन्द्रित भएको र त्यसको प्रतिरोध गर्न आफूहरु तयार रहेको बताउनु भयो । संख्याको मात नदेखाउन पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिनुभयो ।
अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने कुनै सम्भावना नरहेको बताउनु भयो । माओवादीसँग पनि धेरै कुरामा मतभिन्नता रहेकोले मिल्ने सम्भावना नरहेको जिकिर गर्नुभयो । नेता वामदेव गौतम र डा. भीम रावललाई स्वागत गर्न आफूहरु तयार रहेको बताउनु भयो ।