२०८२ असार १७ गते, मंगलवार ११:३३

पर्सा—

बाराको कलैयास्थित नवजन्म पुनर्स्थापना केन्द्रमा एक जनाको कुटपिटबाट हत्या भएको घटनापछि पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जिल्लामा सञ्चालित पुनर्स्थापना केन्द्रहरू (रिहाब) का सञ्चालकहरूसँग छलफल गरेका छन्। यस छलफलका क्रममा लागुऔषध दुव्र्यसन नियन्त्रण, पुनर्स्थापना केन्द्रहरूको अवस्था, सेवाग्राहीहरूको सुरक्षा र अधिकार, तथा केन्द्रहरूको पारदर्शिता र व्यवस्थापन जस्ता विषयहरूमा विस्तृत छलफल भएको थियो।

प्रमुख प्रहरी उपरीक्षक मिश्रले लागुऔषध दुव्र्यसन जस्ता संवेदनशील क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले अत्यन्तै सजग रहनुपर्ने बताउँदै उपचारको खोजीमा आउने व्यक्तिहरूलाई उच्च प्राथमिकता दिनुपर्ने र उनीहरूको अवस्था बुझेर मात्रै सेवा प्रदान गर्नुपर्ने जोड दिए। उनले नेपाल सरकारले तोकेका मापदण्डहरू पालना गर्नुपर्ने बताउँदै कलैयाको जस्तो अमानवीय घटना दोहोरिन नदिन पनि निर्देशन दिए।

यसैबीच, सामुदायिक संस्था सानो पाइलाकी कार्यक्रम संयोजक शैलेश्वरी सिंहले प्रमुख प्रहरी उपरीक्षक मिश्रले सबै सुधार केन्द्रका सञ्चालकहरूसँग छलफल गरेकोमा खुशी व्यक्त गरिन्। उनले भनिन्, “आजको छलफल समग्रामा एकदमै राम्रो भयो। कम्तीमा प्रमुख ज्यूले सबै रिहाबका सञ्चालकहरूसँग भेट्ने वातावरण बनाउनुभयो। पुनर्स्थापना केन्द्र सञ्चालनको अवस्थाका बारेमा जानकारी लिनुभयो। साथै लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि पुनर्स्थापना केन्द्रले खेलेको भूमिकाको पनि उहाँले प्रशंसा गर्नुभयो।”

रिकभरी नेपाल मधेश प्रदेशका अध्यक्ष गौरव वर्माले पनि प्रहरी उपरीक्षक मिश्रले सबै सुधार केन्द्रका सञ्चालकहरूसँग छलफल गरेकोमा सराहना गर्दै यसले सबै रिहाबका सञ्चालकहरूलाई अझै जिम्मेवार बनाएको बताए। उनले भने, “सबै रिहाबले प्रहरीसँग सहकार्य र समन्वय गर्दै लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि हातेमालो गरिनेछ।”

रिकभरी नेपालका मधेश प्रदेश संयोजक मन्टु गिरीले सुधार केन्द्रले पालना गर्नुपर्ने कानुनी प्रावधान तथा सुधार केन्द्रको कामकारवाहीलाई अझै प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो। उनले पर्साका तत्कालिन प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेत र तत्कालिन प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको पालामा रिकभरी नेपालसँग सहमति भएअनुसार जिल्लामा लागुऔषध नियन्त्रणका लागि परामर्श केन्द्र स्थापना गर्न माग गरिएको पनि बताए।

यस छलफलमा रिकभरी नेपाल मधेश प्रदेश अध्यक्ष गौरव वर्मा, कोषाध्यक्ष राजकुमार तामाङ, सामुदायिक पुनर्स्थापना केन्द्रका कार्यक्रम प्रबन्धक भाजु राउत कुर्मी, राइजिङ नेपाल फाउन्डेशनका अध्यक्ष मन्टु गिरी, आस्था नेपालका सञ्चालक दीपराज बर्मा लगायत जिल्लामा सञ्चालित पुनर्स्थापना केन्द्रका सञ्चालक एवं प्रतिनिधिहरू उपस्थित थिए।

हाल पर्सा जिल्लामा रिकभरी नेपाल मधेश प्रदेश, राइजिङ नेपाल, सामुदायिक पुनर्स्थापना केन्द्र (सानो पाइला), मनिला फाउन्डेशन, आस्था नेपाल, नीता फाउन्डेशन, विश्वास, हेल्पिङ होम, युथ राइज, र युथ केयर फाउन्डेशन गरी १० वटा पुनर्स्थापना केन्द्रहरू सञ्चालनमा रहेका छन्।

यस छलफलले लागुऔषध दुव्र्यसन नियन्त्रण र पुनर्स्थापना केन्द्रहरूको सञ्चालनमा सुधार गर्ने अपेक्षा बढेको छ। साथै, प्रहरी र सामुदायिक संस्थाहरूबीचको सहकार्यले यस क्षेत्रमा अझै प्रभावकारी परिणाम ल्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस