जनकपुर-
मधेश कृषि विश्वविद्यालयको सभाले उपकुलपति डा. वैजनाथ महतो र रजिस्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गरेको छ। मंगलबार जनकपुरधाममा भएको विश्वविद्यालयको सभाले उनीहरूलाई अनाधिकृत गतिविधिमा संलग्न भएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो।
नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्यीय समितिले ७ असोजमा बुझाएको प्रतिवेदनका आधारमा उनीहरूलाई बर्खास्त गरिएको हो। विश्वविद्यालयको सभा दिउँसो १२ बजेदेखि राति ११ बजेसम्म चलेको थियो। सभामा विश्वविद्यालयका कुलपति तथा मुख्यमन्त्री सतिशकुमार सिंह, सहकुलपति तथा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीलगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

सभाले चालु आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पनि पारित गरेको छ। यसअघि १६ पुसमा भएको सभाबाट पनि उपकुलपति महतो र रजिस्ट्रार ठाकुरलाई बाहिर निकालिएको थियो। जसपा नेपाल र जनमत पार्टीबीचको विवादका कारण विश्वविद्यालय लामो समयदेखि विवादमा फसेको छ।
लामो समयदेखि सभा नहुँदा विश्वविद्यालयको आर्थिक कारोबार ठप्प भएको छ। जसका कारण पदाधिकारी र कर्मचारीले तलबभत्ता पाएका छैनन्। सेवा प्रदायकहरूले पनि बक्यौता रकम नपाउँदा शैक्षिक सामग्री, इन्धन, विद्युत्, पानी र सञ्चार सेवा अवरुद्ध भएका छन्। त्यहाँ अध्ययनरत कृषि विज्ञानका दुई सेमेस्टरका सय जना विद्यार्थीको भविष्य पनि अन्योलमा परेको छ।
विश्वविद्यालयका रजिस्ट्रार भगवान ठाकुरका अनुसार नयाँ शैक्षिक सत्रका लागि कात्तिकमा सुरु हुनुपर्ने कक्षा अझै सुरु हुन सकेको छैन। विश्वविद्यालय रहेको घरको भाडा नतिरेका कारण घरबेटीले खाली गराउने चेतावनी दिएका छन्। एक अर्ब ७० लाख लागतमा निर्माणाधीन भवन पनि अलपत्र परेको छ।