वीरगन्ज-
वीरगन्ज एकीकृत भन्सार जाँच चौकी (आईसीपी) भित्रै सीसीटीभी क्यामेरा र सुरक्षा गार्डको कडा सुरक्षा व्यवस्था बीच पनि सवारी साधनका ब्याट्री र डिजल चोरी भएको छ। यसले सवारी धनी र चालकहरुले आफूलाई असुरक्षित महसुस गरिरहेका छन् भने व्यवस्थापनमाथि आक्रोस व्यक्त गरेका छन्।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका केन्द्रीय उपाध्यक्ष जगरनाथ प्रसाद कलवारले आफ्नो ट्रकबाट दुईवटा ब्याट्री र २५० लिटर डिजल चोरी भएको जानकारी दिए। उनले बताए, “आईसीपी व्यवस्थापनले गाडी पार्किङ शुल्क बापत दैनिक ९ सय रुपैयाँ लिन्छ, तर सुरक्षामा लापरवाही छ। पार्किङ्ग क्षेत्रमा सीसीटीभी क्यामेरा पनि छैन।”
यस घटनाले सवारी धनी र चालकहरुको चिन्ता बढेको छ। उनीहरुले आईसीपी व्यवस्थापनले सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन्।
आईसीपीको जिम्मेवारी पाएको हिमालयन लजिस्टिक्स प्रा. लि. का प्रमुख गणेश घिमिरेले यस्तो घटना पहिले कहिल्यै नभएको बताए। उनले थप अनुसन्धान गर्ने बताउँदै सुरक्षा गार्डहरुबाट तिर्न लगाइने पनि जनाए।
यस घटनाले आईसीपीको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठेको छ। यातायात व्यवसायीहरुले व्यवस्थापनले तुरुन्तै सुरक्षा व्यवस्था सुधार गर्न माग गरेका छन्।