२०८२ असार १७ गते, मंगलवार १३:१३

काठमाडौं –

‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज विश्वभर एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ। यस अवसरमा नेपाल सरकार, सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनहरूले विविध कार्यक्रम आयोजना गरी यो दिवस भव्यताका साथ मनाउने तयारी गरेका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ। यसका साथै विभिन्न राजनीतिक दलका महिला संगठनहरूले पनि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विविध कार्यक्रम तय गरेका छन्। यस दिवसले महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिहरू स्मरण गर्दै महिलाको प्रविधिमा पहुँच विस्तार गर्ने, महिला सशक्तिकरणलाई अगाडि बढाउने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने लक्ष्य राखेको छ। साथै, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने र उचित सम्मान दिने जस्ता उद्देश्यहरू पनि यस दिवसको मुख्य आधार हुन्।

नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ। महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गरिएको छ। समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा महिलाको सहभागिता बढ्दै गएको छ। हाल सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६.५ प्रतिशत र स्थानीय तहमा ४१.१ प्रतिशत महिला जनप्रतिनिधि छन्। यसैगरी निजामती सेवामा करिब २८ प्रतिशत महिला कर्मचारीको उपस्थिति रहेको छ।

तथापि, समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्दै गएका छन्। यस्ता प्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी छ। शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित गर्नका लागि अझै धेरै मेहनत आवश्यक छ।

अन्तर्राष्ट्रिय महिला दिवसको इतिहास सन् १९०८ मा अमेरिकामा भएको महिला अधिकारको प्रदर्शनसँग जोडिएको छ। उक्त प्रदर्शनमा १५ हजारभन्दा बढी महिलाहरूले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राखेका थिए। यस घटनापछि विश्वभर महिला अधिकारको बारेमा चर्चा बढ्दै गएको थियो। सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले यो दिवसलाई अधिकारिक रूपमा मनाउन थालेको हो। पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ राखिएको थियो।

आजको दिन महिलाहरूले आफ्नो अधिकारको लागि गरेको संघर्षलाई सम्झने र महिला सशक्तिकरणलाई अझ बलियो बनाउने प्रतिबद्धता दोहोर्याउने दिन हो। यस अवसरमा सरकार, गैरसरकारी संस्था र समाजका सबै वर्गले महिलाको अधिकार र समानताको लागि अझ बलियो पहल गर्न आवश्यक रहेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस