काठमाडौं-
देशभरका शिक्षकहरूले आज शनिबार काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत प्रदर्शन गरी विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा यो आन्दोलन सुरु भएको हो। शिक्षकहरूले विगतका सबै सहमतिहरू सम्बोधन गरी विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न आन्दोलन गरेका हुन्।
महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। यसअघि २०८० मा सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने उनीहरूको मुख्य माग हो। आजको प्रदर्शनमा शिक्षकहरूले माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँबानेश्वरसम्म प्रदर्शन गरेका थिए।

आन्दोलनमा भेटिएका नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले आफू भौतिक रूपमै आन्दोलनमा ऐक्यबद्धता जनाउन आएको बताउँदै पटक पटक सम्झौता भएका मुद्दाहरू कार्यान्वयन नगर्नु भनेको राज्यको दृष्टिकोण श्रमजीवी वर्गप्रति सकारात्मक नहुनु रहेको बताए। उनले भने, “राजनीतिक दलहरू पनि श्रमजीवी वर्गप्रति अनुदार हुनुको कारण आज फेरि शिक्षक साथीहरू आन्दोलनको मैदानमा उत्रनु परेको हो। त्यसर्थ विद्यालय शिक्षा ऐन सरकारले यथाशिघ्र जारी गर्नुपर्छ। भन्ने ट्रेड युनियन कांग्रेसको यही धारणा छ।”
शिक्षकहरूले आफ्नो माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन्। उनीहरूले सरकारले विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकहरूको मागलाई सम्बोधन गर्न आग्रह गरेका छन्।
यस आन्दोलनले शिक्षा क्षेत्रमा नीतिगत सुधार र शिक्षकहरूको अधिकार सुनिश्चित गर्ने मागलाई अझ बलियो बनाएको छ। शिक्षकहरूले आफ्नो आन्दोलनलाई अझै विस्तार गर्ने योजना बनाएका छन्।