काठमाडौं-
सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले सरकारको आफ्नै नीतिका कारण वित्तिय संकटको सामना गर्नुपरेको छ । तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले निःशुल्क उपलब्ध हुँदै आएका ९८ प्रकारका औषधिमध्ये २० वटा औषधि लिमिटेडले उत्पादन गर्ने निर्णय गरेको थियो ।
त्यसका लागि अर्थ मन्त्रालयले २४ करोड रुपैयाँ बजेट व्यवस्थापन गर्न सचिवस्तरीय कमिटी समेत गठन गरेको थियो । तर लिमिटेडले औषधि उत्पादन शुरु गरेसँगै सरकार परिवर्तन हुँदा लिमिटेडले पाउनुपर्ने आर्थिक सहायता रोकिँदा आर्थिक संकट उत्पन्न भएको छ । नेपाल औषधि लिमिटेडका महाप्रवन्धक कैलाशकुमार पनेरुले २० वटा औषधिमध्ये १० वटा औषधि उत्पादन गरिसकेको भएपनि सरकारले दिने भनेको २४ करोड रुपैयाँ प्राप्त गर्न नसकेको बताउनु भयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले सरकारी तवरबाट बजेट प्राप्त गर्न नसक्दा थप औषधि उत्पादनमा समस्या भएको बताउनु भयो । सरकारबाट पाउनुपर्ने बजेट नपाएको अवस्थामा औषधि विक्री गरेवापत प्राप्त गर्ने पैसाले थप औषधि उत्पादन गर्ने योजना लिमिटेडको छ । जीवनजल र सिटामोलको उत्पादनबाटै लिमिटेडले आफ्नो व्यवस्थापकीय खर्च र थप औषधि उत्पादन गरिरहेको महाप्रवन्धक पनेरुले बताउनु भयो ।
उहाँले सरकारी तवरबाट बजेट नआउने भएको कारण औषधि विक्री गरेवापत आउने रकमलाई नै बजेट बनाउँदै तलव खाने र बचेको पैसाले थप औषधि उत्पादन बढाउँदै लगिरहेको बताउनु भयो । उहाँकाअनुसार अहिले औषधि लिमिटेडले एमजिड, फोलिड एसिड, ग्लिसिरिन, सेनिटाइजर, डिस्टिल वाटर लगायत ११ थरी औषधी हामीले बनाइरहेको छ । निकट भविष्यमा कोलेस्ट्रोल, सुगर, प्रेसर लगायतका औषधिहरु उत्पादन गर्ने लिमिटेडको लक्ष्य छ ।