२०८२ भाद्र १ गते, आईतवार २२:३९

काठमाडौं –

पूर्वराजा ज्ञानेन्द्र शाह एक साताको बसाईपछि आज काठमाडौं फर्कने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पूर्वराजा शाहको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहित राजावादी समूहले काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित विमानस्थलको गेट अगाडि भेला हुने तयारी गरेपछि सुरक्षा व्यवस्था अत्यन्तै कडा गरिएको हो।

हाल विमानस्थलमा टिकट लिएका यात्रु र त्यहाँका स्टाफ बाहेक अरुलाई प्रवेश निषेध गरिएको छ। साथै, उक्त प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ।

आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, चाबहिल, गौशाला लगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरू परिचालनमा रहेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक संजय बहादुर राउतले बताए अनुसार, प्रहरीबाहेक सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाको इन्टेलिजेन्स टोलीसमेत खटिएको छ।

झण्डै २५ सय बढी सुरक्षाकर्मी सडकमा उतार्ने तयारी गरिएको छ। पूर्वराजा शाहको आगमनलाई लिएर राजावादी समूहले ठूलो स्वागत समारोह गर्ने तयारी गरेकोले सुरक्षा व्यवस्था अत्यन्तै सतर्क रहेको छ।

यसैबीच, सुरक्षाकर्मीहरूले विमानस्थल र आसपासका क्षेत्रहरूमा सुरक्षा चौकसी बढाएका छन्। स्थानीय नागरिकहरूलाई पनि सतर्क रहन सुरक्षा अधिकारीहरूले अपील गरेका छन्।

पूर्वराजा शाहको आगमनलाई लिएर राजनीतिक र सामाजिक क्षेत्रमा चासो बढेको छ। उनको आगमनले राजनीतिक गतिविधिहरूमा के असर पार्छ भन्ने विषयमा पनि चर्चा बढ्दै गएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस