पर्सा-
जिल्ला प्रहरी कार्यालय पर्साले फागु पूर्णिमा (होली) पर्वलाई मर्यादित र सुरक्षित रुपमा मनाउन सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले हिन्दू धर्मावलम्बीहरूको महान पर्व होलीको अवसरमा सम्पूर्ण जनसमुदायमा शुभकामना व्यक्त गर्दै पर्वलाई शान्तिपूर्ण र सभ्य तरिकाले मनाउन आग्रह गरेको छ।
सूचनामा होली खेल्दा अपरिचित व्यक्तिहरूको समूहमा नखेल्न, कसैको इच्छा विपरीत रङ, लोला, मोबिल, मोसो, केमिकल वा फोहोर पानी नछ्याप्न अनुरोध गरिएको छ। छाला र आँखामा असर गर्ने रासायनिक रङको प्रयोग नगर्न, महँगा गरगहना लगाएर होली खेल्ने ठाउँमा नजान र अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि सचेत गराइएको छ।

ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, अशक्त, महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगर्न, रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, धार्मिक/साम्प्रदायिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न र भिडभाड हुने स्थानमा पकेटमारी र लुटपाट जस्ता घटनाबाट बच्न सावधानी अपनाउन पनि कार्यालयले अनुरोध गरेको छ।
कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तुरुन्त नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी नियन्त्रण कक्ष १००/९८५५०९०१३६/९८५५०२८२८५/९८५५०२८२८७ मा फोन गरी जानकारी गराउन पनि आग्रह गरिएको छ। नियम विपरीत कार्य गर्ने व्यक्ति उपर कानून बमोजिम सजाय र जरिवाना हुने पनि जानकारी गराइएको छ।
“होलीको रंग, हर्ष र उल्लाससँग” भन्ने नाराका साथ जारी सूचनाले होली पर्वलाई शान्तिपूर्ण र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।