२०८२ आश्विन २० गते, सोमबार २२:४३

पूर्वराजा प्रति ओली: राजनीतिमा आउन चाहनुहुन्छ भने स्वागत छ, तर मलाई साथ दिनु रे? के कुरामा साथ चाहिएको हो?”

काठमाडौँ –

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको हालैको सार्वजनिक सम्बोधनप्रति असन्तुष्टि जनाएका छन्। आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराजाको फागुन ६ गतेको अभिव्यक्तिलाई असन्तोषजनक बताउँदै संविधान र कानुनको पालनामा जोड दिए।

प्रधानमन्त्री ओलीले पूर्वराजाको “म आउँछु, देश बचाउँछु” भन्ने अभिव्यक्तिलाई आलोचना गर्दै भने, “म पूर्वराजाको सम्बोधन सुनेर छक्क परेँ। देश के भाको छ र बचाउन के चाहिएको छ भन्ने कुरा स्पष्ट छ। यस्ता अस्थिर गतिविधिबाट देशलाई अप्ठ्यारोमा पार्नु उचित छैन।”

उनले पूर्वराजा शाह र राजावादी समूहले गर्दै आएका गतिविधिहरूले लोकतान्त्रिक प्रक्रियामा बाधा पुग्ने बताउँदै भने, “सरकार संविधानअनुसार चल्नुपर्छ। यसलाई सिकाउनुको सट्टा पूर्वराजाले मलाई साथ दिन आग्रह गर्दै हुनुहुन्छ। राजनीतिमा आउन चाहनुहुन्छ भने स्वागत छ, तर मलाई साथ दिनु रे? के कुरामा साथ चाहिएको हो?”

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको स्वीकार गर्दै आगामी एक वर्षभित्र यसमा सुधार गर्ने प्रतिबद्धता पनि जनाए। उनले गेटा मेडिकल कलेजको शैक्षिक कार्यक्रम यसै वर्षदेखि सञ्चालन गरिने र यसलाई मेडिकल विश्वविद्यालयको रूपमा विकास गरिने जानकारी दिए।

सुदूरपश्चिम प्रदेशलाई विकसित प्रदेश बनाउने लक्ष्य राख्दै उनले उद्यमशीलता प्रवर्द्धन गरेर रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले प्रदेश र राष्ट्रिय विकासका लागि सरकारले गर्दै आएका प्रयासहरू पनि जनाए।

यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाहको हालैको सम्बोधनले राजनीतिक गलियारामा चर्को छलफल सुरु भएको छ। उनको सम्बोधनले राजावादी समूहहरूलाई प्रेरित गरेको र लोकतान्त्रिक प्रक्रियामा बाधा पुग्न सक्ने आशंका व्यक्त गरिएको छ।

पोडकास्ट सुन्नुहोस