२०८२ असार १७ गते, मंगलवार ०१:२१

काठमान्डौँ-

सरकारले नसर्ने रोगहरुको पहिचानका लागि संघीय सांसदहरुको स्वास्थ्य परीक्षण शुरु गरेको छ ।

नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियानअन्तर्गत मंगलवार संघीय संसद परिसरमा सरकारले सांसदहरुको स्वास्थ्य परीक्षण गरेको हो । समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बाँचौँ भन्ने नारासहित सरकारले यो अभियान शुरु गरेको छ । सरकारले फागुन महिनाभर नसर्ने रोगहरुको पहिचानका लागि निःशुल्क परीक्षण अभियान शुरु गरेको थियो । अभियानमा स्थानीय स्वास्थ्य संस्थामा ३० वर्षमाथिका नागरिकको परीक्षण भइरहेको छ । अभियानअन्तर्गत उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौल निःशुल्क जाँच गरिएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नीति,योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले अधिकांश नेपाली नागरिक विभिन्न प्रकारका नसर्ने रोगहरुबाट पीडित रहेको बताउनु भयो । उहाँले नेपालको स्वास्थ्य उपचारमा विगतमा अधिकांश राज्यको लगानी सरुवा रोगहरुमा हुने गरेको भएपनि पछिल्लो समय नसर्ने रोगहरुका लागि लगानी गर्नुपरेको बताउनु भयो । नसर्ने रोगहरु दीर्घ प्रकृतिका हुने र लामो समयसम्म यसको असर रहने उहाँको भनाइ छ ।

उहाँकाअनुसार दीर्घ प्रकृतिका रोगले शरीरका विभिन्न अंगलाई प्रताडित गराउने र काम गर्न नसक्ने बताउने जटिलता बढी हुने गर्दछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनालाई वार्षिक रुपमा नसर्ने रोगहरुको पहिचान गर्न प्रारम्भिक परीक्षणको शुरुवात गरेको हो । यसमा तौल नाप्ने, उचाईअनुसार शरीरको बीएमआई नाप गर्ने, रक्तचापको नाप गर्ने, रगतमा चिनीको मात्रा नाप्ने र पिसावमा अल्गोमिन र सुगर लगायतका सामान्य परीक्षण देशभर नै सरकारले फागुन महिनामा सञ्चालन गरिरहेको छ ।

संघीय संसदका सांसद, सचिवालयका कर्मचारी, सञ्चारकर्मीहरुलाई मध्यनजर गरेर फागुन २७ र २८ गते संसद भवन परिसरमा नसर्ने रोगहरुको परीक्षण अभियान सञ्चालन गरिएको डा. पौडेलले बताउनु भयो । संसदमा आज र भोलि बिहान ११ बजेदेखि ४ बजेसम्म परीक्षण हुनेछ । पब्लिक हेल्थमा गरिने वकालतलाई पनि यस अभियानले सहयोग पुग्ने विश्वास राखेको प्रमुख डा. पौडेलले बताउनु भयो । संसद भवन परिसरमा यस अभियानबारे बोल्दै सांसद ईश्वरी घर्तीमगरले नसर्ने रोगहरुको पहिचान गर्न नागरिकस्तरमा पुग्ने गरी सरकारले सञ्चालन गरेको यस अभियानको प्रशंसा गर्नुभयो ।

उहाँले निःशुल्क परीक्षण गर्ने भएकाले सबैले परीक्षण गर्न र समयमै रोगको पहिचान गरेर उपचार गर्ने बाटो समात्न आग्रह गर्नुभयो । यस्तो सुविधा सबै गाउँ बस्तीमा पुग्नुपर्ने सांसद घर्तीमगरको भनाइ छ ।यस्तै, सांसद रञ्जु झाले नसर्ने रोगहरु पहिचान गर्न सञ्चालन गरिएको अभियान राम्रो भएको प्रतिक्रिया दिनुभयो । उहाँले वर्षको दुई पटक यो अभियान चलाउन आग्रह गर्नुभयो । स्वास्थ्य सबैभन्दा महत्वपूर्ण रहेको भन्दै स्वास्थ्यको ध्यान राख्नुपर्नेमा जोड दिनुभयो । सांसद देवप्रसाद तिमलसेनाले स्वास्थ्य मन्त्रालयले गरेको कामको प्रशंसा गर्दै विपन्न बस्ती र गाउँमँ पुगेर नसर्ने रोगहरुको पहिचानका लागि निःशुल्क परीक्षण अभियान सञ्चालन गर्न सुझाव दिनुभयो ।सांसद दिलेन्द्रप्रसाद बडूले गाउँका स्वास्थ्यचौकीहरुमार्फत यसरी परीक्षण शुरु गर्नुपर्ने बताउनु भयो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबका हरेक वर्षहरुको फागुन महिनालाई नसर्ने रोग परीक्षणको महिना बनाइने बताउनु भयो । उहाँले यसको सूचना व्यापक रुपमा फैल्याउन नसक्दा केही समस्या भइरहेको बताउँदै अब सञ्चारमाध्यमहरुले प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनु भयो । सात वटै प्रदेशका संसदमा यो अभियान सञ्चल न गर्ने पनि बताउनु भयो ।

स्वास्थ्यमन्त्री पौडेलले नेपालका सबै स्वास्थ्य केन्द्रमा निःशुल्क परीक्षण गर्न सकिने बताउनु भयो । व्यापक रुपमा हुन नसक्नुमा सूचना प्रवाह व्यापक रुपमा हुन नसकेको बताउनु भयो । सूचना प्रवाह भएको खण्डमा भने सबै नागरिकले परीक्षणमा सहभागी बन्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस