पर्सा –
सेसमी इन्टरनेशनल स्कुलले आज वीरगन्जको प्रगतीनगर वडा नमबर ३ विद्यालय प्रांगणमा कक्षा १० का विद्यार्थीहरूलाई भव्य कार्यक्रमको आयोजना गर्दै विदाई दिएको छ। यस अवसरमा विद्यालयको ११औं ब्याचका विद्यार्थी, शिक्षक, अभिभावक, तथा अतिथिहरू उपस्थित रहे।
कार्यक्रमको मुख्य अतिथि जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख श्री हरि राउतले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै शिक्षाको महत्त्व राष्ट्र निर्माणमा रहेको बताए। उनले सुभेक्षण दिँदै भने, “तपाईंहरूको मेहनत र लगनले नै समाजमा परिवर्तन ल्याउन सक्छ। आफ्नो लक्ष्य प्रति सजग रहनुहोस्।”

वडा नं. ३ का अध्यक्ष श्री बैजु स्वर्णकारले विद्यार्थीहरूलाई आगामी एस.इ.इ. (SEE) परीक्षामा उत्कृष्टता हासिल गर्न प्रेरित गर्दै भने, “यसले तपाईंको विद्यालय र अभिभावकको नाम उज्ज्वल पार्नेछ। सफलताको साथै नैतिक चरित्र बनाउनु पनि जरुरी छ।” उनले विद्यार्थीहरूलाई मानवतावादी दृष्टिकोण अपनाउन पनि आग्रह गरे।
कार्यक्रममा विद्यार्थी र शिक्षकहरूले सांस्कृतिक नृ्त्य, गीत, तथा चेतनामूलक नाटक प्रस्तुत गरेर मनोरञ्जनको साथै सामाजिक सन्देश पनि दिए। अभिभावकहरूले पनि आफ्ना सन्तानहरूको प्रस्तुतिलाई उत्साहपूर्वक प्रोत्साहन गरे।
विद्यालयका निर्देशक श्री मनोज यादवले कार्यक्रमको सफलताको श्रेय विद्यार्थी, शिक्षक, तथा अभिभावकहरूलाई दिँदै भने, “यो पुस्ता नै देशको भविष्य हो। हामी तिनीहरूबाट ठूलो आशा राखेका छौं।” कार्यक्रमको सञ्चालन कक्षा ९ का विद्यार्थीहरूले गरेका थिए।
यस अवसरमा स्थानीय प्रशासन, सञ्चारकर्मी, बुद्धिजीवी, तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। विद्यार्थीहरूले आफ्नो विद्यालयीन जीवनको अन्तिम पलहरूमा भावुकतापूर्ण क्षणहरू साझा गरे।