वीरगन्ज –
होलीको अवसरमा आयोजित एक कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि साङ्घातिक हमला भएको छ। यो घटना वीरगन्जको पानिटंकीस्थित डाइमन प्यालेसमा भएको हो।
प्यालेसका सञ्चालक वीरेन्द्र पटेलले आफ्नो छोराको जन्मदिन र होलीको अवसर पारेर आफ्ना इष्टमित्रलाई भोजमा बोलाएको बेला यो घटना घटेको वडाध्यक्ष चतुर्वेदीले बताए। उनका अनुसार, उनी कार्यक्रममा बसेर खाना खाइरहेको बेला एक्कासी भूषाल चौरसियासहितको समूहले हेल्मेटलगायतका वस्तुले आफूमाथि आक्रमण गरेको हो।

यता, भूषाल चौरसियाले भने वडाध्यक्ष चतुर्वेदीले आफूहरूलाई गालीगलौज गरेपछि झगडा भएको दाबी गरेका छन्।
कार्यक्रममा उपस्थित जगरनाथ कुर्मीका अनुसार, उनी र वडाध्यक्ष चतुर्वेदी खाना खाइरहेको बेला एक समूहले अचानक चतुर्वेदीमाथि हमला गरेको देखेर उनी अचम्मित भएका थिए। “म आशुतोषजीको नजिकै खाना खाइरहेको थिएँ, अचानक एक समूह आएर चतुर्वेदीमाथि हातपात गर्न थाल्यो। हामी अचम्मित भयौं। जे भए पनि यो गलत हो। होलीमा सबैले दुश्मनी भुल्ने काम गर्छन्, तर दुश्मनी निभाउनु गलत हो,” उनले थपे। हेल्मेट र मुक्काले आशुतोषमाथि प्रहार हुन थालेपछि उनीहरूले छुट्याउने प्रयास गरेको र आशुतोषको मुखबाट रगत निस्कन थालेपछि आफ्नै गाडीमा उनलाई अस्पताल पुर्याएको कुर्मीले बताए। “हिजोको घटना दुःखदायी छ,” उनले भने।
घटनापछि वडाध्यक्ष चतुर्वेदी र चौरसियालाई वीरगन्जको नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। चतुर्वेदीलाई छाती र टाउकोमा चोट लागेको छ भने चौरसियाको हातमा चोट लागेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले घटनालाई आफ्नो निगरानीमा राखेको जानकारी दिएका छन्। “घटनापश्चात् भूषाल चौरसियालाई हामीले नियन्त्रणमा लिएका थियौं, तर उनको हातमा चोट लागेकाले उपचार गराई हाजिर हुन भनेका छौं। आज होलीको बिदा भएकाले कार्यालय खुल्नेबित्तिकै प्रक्रिया अगाडि बढ्नेछ,” उनले बताए।