काठमाडौं-
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो।
यसअघिका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको कार्यकाल सोमबार राति सकिएपछि थापाले नयाँ नेतृत्वको जिम्मेवारी पाएका हुन् । थापाका प्रतिस्पर्धी एआईजीद्वय टेकबहादुर तामाङ र सुदीप गिरी थिए। वरिष्ठताका आधारमा थापालाई सरकारले आईजीपी नियुक्त गरेको हो।

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलमा २०२८ मंसिर ८ गते जन्मिएका थापा २०५२ भदौ १९ गते प्रहरी निरीक्षक बनेका थिए। उनले प्रहरी संगठनका विभिन्न निकायमा काम गरिसकेका छन्। हाल उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख छन्।
कानुनमा एलएलबी, राजनीति शास्त्रमा एमए र जनप्रशासनमा एमपीए गरेका थापाले नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग, काठमाडौं उपत्यका प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलगायत विभिन्न जिल्ला प्रहरी कार्यालयमा काम गरेका छन्। उनले संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत सुडान र लाइबेरियामा पनि सेवा गरेका छन्।
प्रहरी संगठनको विद्यमान ३० वर्षे सेवा अवधिअनुसार थापा ६ महिना आईजीपी रहनेछन्। तर, गृह मन्त्रालयले प्रहरी सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। उक्त विधेयक कार्यान्वयनमा आएमा उनको कार्यकाल ६ महिना थपिनेछ।
राजनीतिक सन्तुलन मिलाएर कार्यसम्पादन गर्ने छवि बनाएका थापालाई मंगलबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्ने कार्यक्रम छ। त्यसपछि उनले प्रहरी प्रधान कार्यालयमा पुगेर कार्यभार सम्हाल्नेछन्।
कुँवरले दुई वर्षको कार्यकालमा सरुवा-बढुवाजस्ता महत्वपूर्ण कार्यहरूमा राजनीतिक शक्तिकेन्द्रसँग नतमस्तक भएको आरोप खेपेका थिए। अब छोटो कार्यकालमा थापाले प्रहरी संगठनलाई कसरी अगाडि बढाउँछन्, त्यो हेर्न बाँकी छ।