वीरगन्ज-
वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि भएको स्ववियु निर्वाचनको मतगणना सुरु हुन ढिलाइ भएको छ। क्याम्पस प्रशासन र निर्वाचन समितिले मतगणना सुरु गर्न आलटाल गरिरहेका कारण मतगणनाको निष्पक्षतामाथि प्रश्न उठेको छ।
मंगलबार साँझ ६ बजे मतदान सकिएपछि राति १० बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको थियो। तर, राति २:१५ बजेसम्म पनि मतगणना सुरु नभएपछि क्याम्पस प्रशासनले सूचना टाँसेर बुधबार बिहान १० बजेसम्मका लागि स्थगित गरेको थियो।
बुधबार बिहान १० बजे विद्यार्थी संगठनका प्रतिनिधिहरू क्याम्पस पुग्दा उनीहरूलाई प्रहरीले बाहिर निकालेको थियो। विद्यार्थी नेताहरूले क्याम्पस प्रशासनले सत्ताधारी दलको विद्यार्थी संगठनलाई जिताउन चलखेल गरिरहेको आरोप लगाएका छन्।
मतगणना स्थलमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरूलाई समेत क्याम्पस परिसरभित्र प्रवेशमा रोक लगाइएको छ। यसले मतगणनाको पारदर्शितामाथि थप आशंका बढाएको छ।
प्रमुख निर्वाचन अधिकृतले मतगणना सुरु गराउनका लागि आफूहरू लागिरहेको र विद्यार्थी संगठनहरूलाई प्रतिनिधिहरूको नामावली पठाउन आग्रह गरिएको बताएका छन्। उनले सञ्चारकर्मीहरूका कारण मतदानका बेला समस्या भएकाले मतगणना स्थलमा प्रवेशमा रोक लगाइएको बताए।
ठाकुरराम क्याम्पसमा मंगलबार भएको मतदानमा कुल १० हजार ७२९ मतमध्ये ४० प्रतिशत अर्थात् ४ हजार २९९ मत खसेको थियो। स्ववियु सभापति पदका लागि १४ जना चुनावी प्रतिस्पर्धामा छन्।