काठमाडौं-
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक दलहरु गणतन्त्र र जनताको जनजीविकामा सुधार गर्नुभन्दा सत्तामोह र अवसर पाउँदा असैद्धान्तिक गठबन्धन गर्ने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा समस्या आएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको कारण राजतन्त्र फर्किने कल्पना नगर्न समेत चेतावनी दिनुभयो । आफूलाई राजतन्त्र फर्किने डर नभई आफ्ना कमिकमजोरी सच्याउनसक्छौं कि सक्दैनौं भन्ने डर रहेको बताउनु भयो ।

उहाँले संविधान कार्यान्वयनको दोस्रो कार्यकालसम्म आइपुग्दा जन आवश्यकताअनुसार कानून बनाउन नसक्नु कसको दोष हो ? भन्दै प्रश्न गर्नुभयो । प्रदेशलाई प्रभावकारी र स्थानीय तहलाई बलियो नबनाउने समस्याको पछाडि केन्द्रिकृत मानसिकताको गल्ति हो भन्ने स्विकार्न गल्ति गर्न नहुने उहाँको भनाइ छ ।