काठमाडौं-
नेपाली काँग्रेसबाट राष्ट्रिय सभा सांसद आनन्दप्रसाद ढुंगानाले नेपालमा पुनः राजसंस्था फर्काउछु भन्नु दिवा स्वप्ना भएको बताउनुभएको छ ।
बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको अधिकार कुण्ठित गर्ने संसारभरका राजाहरु इतिहासमा सिमित भएको बताउनु भयो । उहाँले नेपालका राजाहरुले लोकतन्त्रको विरुद्धमा काम गरेको बताउनु भयो ।

विगतमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र नेपाली जनताले स्वीकार गरेको स्मरण गर्दै उहाँले राजाले प्रजातन्त्रको विरुद्धमा विभिन्न कदम चालेपछि गणतन्त्र स्थापना भएको बताउनु भयो । जनतासँग मिलेर बसेका राजसंस्थाहरु अहिले पनि विभिन्न देशमा जिवित रहेको उहाँको भनाइ छ ।
राष्ट्रिय सभा सदस्य ढुंगानाले राजनीतिक दलका नेताहरुले एकअर्कालाई दोष मात्रै दिइरहने हो भने देशको अवस्था सिक्किमको जस्तो हुन सक्नेप्रति सचेत गराउनु भयो । उहाँले राजनीतिक दलका नेताहरु कोही पनि निर्दोष नरहेको भन्दै संयम भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सभा सदस्य ढुंगानाले नेपाली काँग्रेस संसदमा ठूलो दल भएर पनि सरकारको नेतृत्व नगरी अरुलाई अवसर दिएको दाबी गर्नुभयो । उहाँले नेपाली कांग्रेसले सत्ताको नेतृत्व गर्नुभन्दा लोकतन्त्रलाई बलियो बनाउनेतर्फ काम गरी रहेको जिकिर गर्नुभयो ।