काठमाडौं –
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हाँसिल गर्नसक्ने बताउनुभएको छ ।
काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले पानी दैनिक जीवनको मात्र नभइ आर्थिक समृद्धिको वाहक भएको बताउनु भयो ।
उहाँले पानीको प्रयोग गरेर देशलाई समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउनु भयो । उर्जामन्त्री खड्काले जलश्रोतहरु नेपालको संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड भएको जिकिर गर्नुभयो । जलवायु परिवर्तनका कारण विश्व पानी चक्रमा नै परिवर्तन आएको बताउनु भयो । हिमनदीहरु खुम्चिँदै जानुले हिमताल फुट्ने जोखिम वृद्धि भएको बताउनु भयो ।
मन्त्री खड्काले बेमौसमी वर्षाले कृषि क्षेत्रमा धेरै असर पुगेको र त्यसले जलश्रोत व्यवस्थापन र भविष्यको जल सुरक्षामा गम्भीर चुनौति उत्पन्न गरेको बताउनु भयो । जलश्रोत रणनीतिको लागि राज्यले आवश्यक योजना बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।