वीरगन्ज-
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को पहिलो दिनको परीक्षामा अनियमितता देखिएपछि पर्सा जिल्ला प्रशासन कार्यालयले आधादर्जन केन्द्राध्यक्ष र निरीक्षकहरूलाई कारबाही गरेको छ।
जिल्ला प्रशासन कार्यालयले परीक्षाको अनुगमनपछि जारी गरेको विज्ञप्ति अनुसार, वीरगन्जका विभिन्न परीक्षा केन्द्रहरूमा परीक्षाको मर्यादा र अनुशासन उल्लङ्घन भएको पाइएको छ।

यस्तो छ कारबाहीको विवरण:
- माइस्थान विद्यापीठ माध्यमिक विद्यालय: केन्द्राध्यक्ष मुनिलाल कर्णलाई सचेत गराइएको छ भने सहायक केन्द्राध्यक्ष जयप्रकाश सर्राफलाई परीक्षा अवधिभर केन्द्रमा प्रवेश निषेध गरिएको छ।
- नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी र निचुटा: अभिभावक संघलगायत अनधिकृत व्यक्तिको प्रवेश देखिएपछि केन्द्राध्यक्षलाई लिखित ध्यानाकर्षण गराइएको छ। निरीक्षक लालबाबु यादवलाई जिम्मेवारीबाट हटाइएको छ।
- सिद्धार्थ माध्यमिक विद्यालय, चिनी कारखाना: निरीक्षकहरू धरमेन्द्र पाण्डे र रामबालक यादवलाई जिम्मेवारीबाट हटाइएको छ।
- द्वारदेवी मा.वि. अलौ: केन्द्रबाहिर अनावश्यक भिडभाड देखिएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ।
- सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालय: नियमित र ग्रेडवृद्धि विद्यार्थीलाई प्रश्नपत्रमा गडबडी देखिएपछि स्थानीय शिक्षा शाखालाई परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्यालले सबै परीक्षा केन्द्रहरूमा कडाइका साथ जाँच गर्न र परीक्षाको मर्यादा कायम राख्न निर्देशन दिएको छ। प्रश्नपत्र खोल्ने समयमा एकरूपता ल्याउन परीक्षा समयभन्दा २० मिनेट अगाडि मात्र प्रश्नपत्र खोल्न निर्देशन दिइएका छन ।
प्रमुख जिल्ला अधिकारीले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सबै सरोकारवालालाई आग्रह गरेका छन्।