काठमाडौं-
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्युनिकरण गर्न सरकारले प्राथमिताहरु बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले यसको न्युनिकरणका लागि आफ्ना अहिलेसम्मका प्राथमिकताहरु बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको बताउनु भयो ।

उहाँले यसको निदानका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्वन गर्न जरुरी रहेको बताउनु भयो । खर्च गर्ने थर शतप्रतिशत उपलब्धि हाँसिल नभइरहेको अवस्था रहेको भन्दै शतप्रतिशत उपलब्धि हाँसिल गर्नेगरी हामीले नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवाहरु उपलब्ध हुने अस्पताल सञ्चालन गर्न जरुरी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिवद्धता जनाउनु भयो । मन्त्री पौडेलले क्षयरोगको बिरामी मन्त्रालय, चिकित्सकले खोजेर नभेटिने भन्दै पालिकाले क्षयरोगको बिरामी खोज्नुपर्ने बताउनु भयो । क्षयरोग पत्ता लगाउन स्थानीय तहलाई सक्रिय बनउनुपर्ने बताउनु भयो ।