२०८२ असार १६ गते, सोमबार २०:०९

इटहरी –

इटहरी बजारको मुख्यचोकमा अवस्थित १० तले व्यावसायिक भवन ‘सेन्टर प्लाजा’ मा आज बिहान भीषण आगलागी भएको छ। बिहान करिब ९:३० बजे भवनको पाँचौँ तलाबाट सुरु भएको आगो तीव्र रूपमा फैलिएको छ। आगलागीका कारण भवनभित्र रहेका मानिसहरू फसेको र उनीहरूको उद्धारका लागि तीव्र प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगो भवनको बीच भागमा लागेकाले माथिल्ला तलाहरूमा फसेका मानिसहरूलाई डोरीको सहायताले बाहिर निकाल्ने काम जारी छ। आगलागीको सूचना प्राप्त हुनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरू उद्धार कार्यमा जुटेका छन्। घटनास्थलमा ग्यास सिलिन्डरहरू पड्किरहेको आवाज सुनिएको छ, जसले उद्धार कार्यलाई थप जटिल बनाएको छ।

गृहमन्त्रालयले आगो नियन्त्रण र फसेका मानिसहरूको सकुशल उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतर्फ पठाइएको जानकारी दिएको छ। अहिले आगो निभाउने र मानिसहरूलाई सुरक्षित स्थानमा ल्याउने कार्यमा सबै पक्षको समन्वयमा तीव्र गतिमा काम भइरहेको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार आगो एक्कासि फैलिएको र धुँवाको ठूलो मुस्लोले वरपरको क्षेत्र प्रभावित भएको छ। आगलागीको कारण भने अझै स्पष्ट भएको छैन। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गर्ने बताएको छ।

यो समाचार अपडेट भइरहेको छ। थप जानकारीका लागि बनेपा न्यूजसँग जोडिरहनुहोस्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस