२०८२ असार १७ गते, मंगलवार ०७:२१

वीरगन्ज-

वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेकी ८० वर्षीया आलिया बीबीको आज मानवसेवा आश्रम वीरगन्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ। भारतको पश्चिम बंगाल राज्य, पूर्व मेदिनीपुर जिल्लाको पूर्व राधापुर गाउँ, भगवानपुर थाना क्षेत्रकी आलिया बीबीले लामो समयपछि आफ्नो परिवारसँग भेट्दा खुशीको आँसु झारेकी थिइन्।

२०७४ साल मंसिर १ गते वीरगन्जको बिर्ता मन्दिरदेखि नारायणी अस्पतालसम्मको क्षेत्रमा मानसिक अवस्था कमजोर र कष्टपूर्ण जीवन बिताइरहेकी आलिया बीबीलाई मानवसेवा आश्रमले उद्धार गरेको थियो। उनको हात र दाहिने खुट्टामा किरा परेको अवस्था थियो। आश्रममा ल्याइएपछि उनले आफ्नो नाम आलिया बीबी भएको बताएकी थिइन्। लगभग ७ वर्षसम्म आश्रममा बसेर माया, प्रेम र औषधि उपचार पाएपछि उनको स्वास्थ्यमा सुधार आएको थियो।

आश्रमको अथक प्रयास र मेहनतले आलिया बीबीको परिवारको ठेगाना पत्ता लागेको हो। आश्रमका संस्थापक देवेश गुप्ताका अनुसार परिवारले विगत १५ वर्षदेखि उनलाई खोजी गरेको तर भारतका विभिन्न राज्यमा खोज्दा पनि नभेटिएको जानकारी दिएका थिए। परिवारले उनको आशा नै मारेको अवस्थामा आश्रमको पहलले यो पुनर्मिलन सम्भव भएको हो।

आज आलिया बीबीको परिवारबाट ५ जना वीरगन्ज आएका थिए। जसमा उनका भाइ सफ्रुदीन मलिक, भतिजाहरू मुस्ताक र विप्लव मलिक, भान्जा सहजन अलि खान र भाइबुहारी गुंडी बीबी सामेल थिए। उनीहरूले अत्यन्तै खुशी हुँदै आलियालाई आफ्नो गाउँ भारतको पश्चिम बंगालतर्फ लिएर गएका छन्।

मानवसेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ताले यो पुनर्मिलनले आश्रमको उद्देश्य र मेहनतको फल प्राप्त भएको बताए। “१५ वर्षपछि परिवार भेट्दाको खुशी शब्दमा व्यक्त गर्न सकिँदैन। आलिया बीबी र उनको परिवारको अनुहारमा देखिएको खुशीले हामीलाई थप प्रेरणा दिएको छ,” गुप्ताले भने।

यो घटनाले मानवसेवा आश्रमको सामाजिक कार्यप्रतिको समर्पण र उद्धारपछि परिवारसँग पुनर्मिलन गराउने प्रयासको महत्त्वलाई उजागर गरेको छ। आलिया बीबीको परिवारले आश्रमप्रति कृतज्ञता व्यक्त गर्दै आलियालाई घर फर्काउन पाउँदा आफूहरूको वर्षौंदेखिको पीडा समाप्त भएको बताए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस