२०८२ असार १६ गते, सोमबार २०:३२

काठमाडौं–

आज शुक्रबार काठमाडौंमा राजावादी र गणतन्त्रवादी समूहले राजधानी केन्द्रित जनप्रदर्शनको तयारी गरेका छन्। दुवै पक्षले एकै दिन शक्ति प्रदर्शन गर्न लागेपछि सरकारले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ। उपत्यका प्रहरी कार्यालयका अनुसार राजधानीका विभिन्न स्थानमा करिब ३५ सय प्रहरी परिचालन गरिने भएको छ।

राजावादी दल तथा विभिन्न समर्थक संघ–संगठनले राजसंस्था पुनर्स्थापनाको माग राख्दै प्रदर्शनीमार्गको तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका छन्। यता, गणतन्त्र पक्षधर समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा आफ्नो प्रदर्शन आयोजना गरेको छ। दुवै पक्षको प्रदर्शनले तनाव बढ्ने आशंकाबीच प्रहरीले सम्भावित झडप रोक्न उच्च सतर्कता अपनाएको छ।

राजावादीको सक्रियता र पूर्वराजाको आह्वान
गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई साथ दिन सार्वजनिक आह्वान गरेपछि राजावादीहरु उत्साहित बनेका छन्। फागुन २५ गते पोखराबाट काठमाडौं फर्कने क्रममा उनको स्वागतमा जनताको उल्लेख्य सहभागिता देखिएपछि राजावादी समूहले आन्दोलनलाई निरन्तरता दिने संयुक्त प्रयास थालेका हुन्। पुराना पञ्च नवराज सुवेदीले यो आन्दोलनको समग्र नेतृत्व गरेका छन् भने मेडिकल व्यवसायी दुर्गा प्रसाईं कमाण्डरको भूमिकामा चयन भएका छन्।

समाजवादी मोर्चाको प्रतिवाद
माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेकपा र नेपाल समाजवादी पार्टी (नेसपा) सम्मिलित समाजवादी मोर्चाले राजावादीको आन्दोलनलाई ‘व्यवस्था उल्टाउने प्रयास’ भन्दै त्यसको प्रतिवाद गर्न शक्ति प्रदर्शनको घोषणा गरेको छ। मोर्चाले गणतन्त्रको रक्षा र राजावादी गतिविधिको विरोधमा आफ्नो प्रदर्शन केन्द्रित गर्ने जनाएको छ।

सुरक्षा चुनौती र सरकारको तयारी
एकै दिन दुवै पक्षको प्रदर्शन हुने भएपछि काठमाडौं उपत्यकामा सुरक्षा चुनौती थपिएको छ। उपत्यका प्रहरी कार्यालयले संवेदनशील क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति रहने र शान्ति–सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने बताएको छ। प्रदर्शनकारीहरुबीच सम्भावित झडप रोक्न प्रहरीले रणनीतिक स्थानमा ब्यारिकेड राख्ने तयारी गरेको छ।

आजको प्रदर्शनले काठमाडौंको राजनीतिक माहोललाई थप तताउने अनुमान गरिएको छ। दुवै पक्षले आफ्नो शक्ति र समर्थन प्रदर्शन गर्ने यो अवसरलाई महत्वपूर्ण मानेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस