सप्तरी–
सप्तरीको रूपनी गाउँपालिका–४ स्थित पम्प नहरको डिलमा रहेको एउटा बिजुलीको पोलमा ‘श्री राष्ट्रिय प्राथमिक विद्यालय, विष्णुपुर गाउँपालिका १ खुरहुरिया (उत्तर टोल), स्थापना २०६७’ लेखिएको साइनबोर्ड झुन्ड्याइएको छ। तर, त्यहाँबाट करिब सय मिटर दक्षिणतर्फ रहेको चारकोठे टहरो नै वास्तविक विद्यालय हो, जुन वस्तुगोठजस्तै देखिन्छ। इँटाको पर्खाल र जस्तापाताले छाएको उक्त टहरोमा न साइनबोर्ड छ, न त विद्यार्थी र शिक्षक नै भेटिन्छन्।
दयनीय अवस्थामा विद्यालय
विद्यालय भवनको अवस्था अत्यन्त दयनीय छ। कुनै पनि कोठामा ढोका छैनन्। खानेपानी, शौचालय, डेस्क–बेन्च जस्ता आधारभूत पूर्वाधारको अभाव छ। कक्षा ३ सम्म सञ्चालित यो विद्यालय विसं २०६७ देखि कागजमा सञ्चालनमा रहेको सरकारी विद्यालय हो। तर, स्थानीयवासीका अनुसार विद्यालयमा नियमित पठनपाठन कहिल्यै भएको देखिँदैन। “१०–१५ दिनमा एकपटक मात्रै प्रधानाध्यापक नरेशकुमार यादव आउनुहुन्छ,” एक स्थानीयले बताए।

विद्यालय अवलोकनका क्रममा प्रधानाध्यापक यादवलाई फोन गर्दा उनको फोन उठेन। तर, पछि सम्पर्क हुँदा उनले आफू नियमित विद्यालय आउने दाबी गरे। “म पुस महिनामा यो विद्यालयमा आएँ, नयाँ छु। विद्यालयको रेकर्डमा ६२–६३ जना विद्यार्थी छन्। हिजो बुधबार परीक्षा सञ्चालन गरेँ, १५–१६ जना विद्यार्थी आएका थिए,” उनले भने। यद्यपि, उनले भवनलगायतका पूर्वाधार अभावका कारण विद्यालय सञ्चालनमा अप्ठ्यारो भएको र भवन निर्माणका लागि गाउँपालिकामा गएकाले बिहीबार विद्यालय नआएको बताए।
कागजमा मात्रै सञ्चालन
गाउँपालिकाका शिक्षा संयोजक रामेन्द्र यादवले विद्यालयमा राहत कोटाबाट प्रधानाध्यापक नरेशकुमार यादव र स्वयंसेवक शिक्षक सन्तकुमार यादव कार्यरत रहेको बताए। “३०–४० जना विद्यार्थी अध्ययनरत छन्,” उनले भने। तर, गाउँपालिकादेखि प्रधानाध्यापकसम्मले विद्यार्थी संख्याको यकिन तथ्याङ्क दिन नसक्नुले विद्यालय कागजमा मात्रै सञ्चालित रहेको र शिक्षकहरूले तलबभत्ता लिने गरेको स्थानीयको आशंका छ।
स्थानीयवासीले बिहान १० बजेको समयमा पनि नियमित रूपमा विद्यार्थी र शिक्षक आएर पठनपाठन भएको कहिल्यै नदेखेको बताएका छन्। “कहिलेकाहीँ मात्रै शिक्षक आउँछन्, नियमित पढाइ हुँदैन,” उनीहरूको भनाइ छ।
गाउँपालिकाको प्रयास
गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवले विद्यालय अहिलेसम्म कागजमा मात्रै सीमित रहेको स्वीकार गरे। “म पालिका अध्यक्षमा निर्वाचित भएर आएपछि विद्यालयको अवस्था बुझ्दा कुनै पनि पूर्वाधार नभएको र कागजमा मात्रै सञ्चालित रहेको पाएँ। जीवन्त बनाउन दुई शिक्षक पठाएका छौं र यस वर्ष भवन निर्माणका लागि १० लाख रुपियाँ विनियोजन गरेका छौं,” उनले भने।
अध्यक्ष यादवले एक दिन अनुगमनका क्रममा १७–१८ जना विद्यार्थी भेटिएको बताए। “विद्यालयको अवस्था दयनीय छ। भवन, खानेपानी, शौचालय जस्ता कुनै पनि पूर्वाधार छैनन्। यसै वर्ष भवन निर्माण कार्य थालिनेछ,” उनले थपे। उनले शिक्षकहरूले विद्यालयमा नआएरै तलब खाने गरेको विषयमा आफू गम्भीर रहेको र यसमा कडाइ गर्ने प्रतिबद्धता व्यक्त गरे।
सुधारको पहल
अध्यक्ष यादवले निर्वाचित भएदेखि नै गाउँपालिकास्थित सरकारी विद्यालयहरूको अवस्थामा सुधार ल्याउन नियमित अनुगमन र पूर्वाधार विकासका लागि उल्लेखनीय काम गर्दै आएको बताए। तर, श्री राष्ट्रिय प्राथमिक विद्यालयको अवस्थाले गाउँपालिकाको शैक्षिक सुधारको प्रयासमाथि नै प्रश्न उठाएको छ। शिक्षकको अनुपस्थिति र पूर्वाधारको अभावले विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको स्थानीयको गुनासो छ।
यो विद्यालयको अवस्थाले सरकारी विद्यालयहरूको वास्तविक चित्रण गरेको छ। कागजमा सञ्चालित यस्ता विद्यालयलाई जीवन्त बनाउन गाउँपालिकाले ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ।