काठमाडौं –
काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीहरू उग्र बनेर घरहरूमा तोडफोड र आगजनीमा उत्रिएपछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। सम्भावित ठूलो दुर्घटना रोक्न शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन्।
प्रदर्शनले हिंसात्मक रूप लिएपछि प्रहरीले तीनकुने क्षेत्रबाट प्रदर्शनकारीहरूलाई तितरबितर पारेको छ। भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेको थियो। प्रदर्शनकारीलाई हटाउन प्रहरीले प्रदर्शनस्थलको स्टेजमै अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। अहिले तीनकुने मैदान खाली गराइएको छ।

यसअघि, राजावादी समूहले निजी घरहरूमा ढुंगामुढा प्रहार गरी तोडफोड र आगजनी गरेको थियो। स्थिति तनावग्रस्त बनेपछि प्रहरीले कडा कदम चालेको हो। कर्फ्युका कारण उक्त क्षेत्रमा आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ भने सुरक्षाकर्मीको बाक्लो उपस्थिति कायम छ। घटनाको थप विवरण आउन बाँकी छ।