काठमाडौं–
राजावादीहरुको प्रदर्शन आज हिंस्रक बन्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने र आसपासका क्षेत्रमा शुक्रबार अपराह्न ४ः२५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ। प्रदर्शनका क्रममा पार्टी कार्यालय, निजी घर, सञ्चारमाध्यम र सरकारी सम्पत्तिमा तोडफोड तथा आगजनीका घटना भएका छन्।
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट कार्यालयमा तोडफोड तथा आगजनीको प्रयास भएको छ। कोटेश्वरस्थित जडिबुटी कारखानामा आगजनी हुँदा कम्तीमा आधा दर्जन गाडी जलेका छन्। पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालय नजिकै सरकारी नम्बर प्लेट भएको गाडी जलाइएको छ भने माओवादी कार्यालयमा समेत तोडफोड र आगजनीको प्रयास भएको छ। नेकपा एमालेको कार्यालय नजिकै पनि प्रदर्शनकारीले एउटा ट्याक्सी जलाएका छन्।

त्यसैगरी राजावादीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाएको प्रहरीले जनाएको छ। बालकुमारी क्षेत्रमा पनि सवारी साधन जलाइएको छ भने पेरिसडाँडामा एउटा मोटरसाइकलसमेत तोडफोड गरिएको छ।
कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा प्रवेश गरी प्रदर्शनकारीहरूले तोडफोड र लुटपाट गरेका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ।
यसैबीच, राजावादी प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनका क्रममा घाइते भएका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी दिएको छ।
प्रहरीका अनुसार प्रदर्शनका क्रममा १५ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएका छन्। घटनाको अनुसन्धान जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। कर्फ्यू जारी गरिएका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।