२०८२ असार १७ गते, मंगलवार ०७:१४

काठमाडौं

काठमाडौंको तीनकुनेमा राजावादीहरुले आगजनी गरेको एक घरमा जलेर एकजना व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ। प्रदर्शनकारीले प्रहरी बसेको आशंकामा आगो लगाएको उक्त भवनमा एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकको जलेर मृत्यु भएको हो।

उनी एभिन्यूज टेलिभिजनमा क्यामेराम्यानका रुपमा कार्यरत थिए। प्रहरीले औपचारिक रुपमा उनको विस्तृत विवरण सार्वजनिक नगरे पनि घटनास्थलमा भेटिएको शव रजकको भएको पुष्टि भएको छ। आगलागीमा उनको शव पूर्णरुपमा जलेको अवस्थामा भेटिएको थियो, जसकारण पहिचान गर्न कठिन भएको थियो।

अहिले प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ। प्रहरी र प्रदर्शनकारीबीचको झडपपछि तीनकुने क्षेत्रमा रहेको मार्बल हाउसमा प्रदर्शनकारीले आगजनी गरेका थिए। यसअघि प्रदर्शनकारीले उक्त घरमा ढुंगामुढा गर्दा घरका सिसाहरु फुटेका थिए।

यस घटनाले राजावादीहरुको प्रदर्शन थप हिंस्रक बनेको देखिएको छ। यसअघि पनि प्रदर्शनकारीले विभिन्न पार्टी कार्यालय, सञ्चारमाध्यम र सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी गरेका थिए। काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन तीनकुने र आसपासका क्षेत्रमा कर्फ्यू जारी गरेको छ।

यस घटनाबारे थप विवरण आउन बाँकी छ। प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस